काठमाडौ- १३औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत पोखरा रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको छ।
यो खेलमा नेपालका तर्फबाट बलिङ गरेकी बलर अञ्जली चन्दले विश्व किर्तिमान बनाएकी हुन्।
माल्दिभ्सलाई नेपालले १०.१ ओभरमा १६ रनमा अलआउट गरेको थियो। त्यसपछि जितका लागि आवश्यक रन नेपालले जम्मा पाँच बल खेलेरै हासिल गर्यो। काजल श्रेष्ठ १३ रन बनाएर नटआउट रहिन्।
चन्दको कीर्तिमानी बलिङ
टी २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा पहिलो खेल खेलिरहेकी नेपालकी अञ्जली चन्दले २.१ ओभर बलिङ गर्दै कुनै रन नदिई छ विकेट लिएर रेकर्ड बनाएकी हुन्।
‘प्लेअर अफ द म्याच’ घोषित भएकी चन्दको यो बलिङ टी २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सबैभन्दा उत्कृष्ट हो। उनले आफ्नो दोस्रो बलमै पहिलो विकेट लिएकी थिइन् र पहिलो ओभरमै उनले तीन खेलाडीलाई पवेलियनको बाटो देखाएकी थिइन्।
आफ्नो दोस्रो ओभरको अन्तिम दुई बल र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर उनले ह्याट्रिक पनि पूरा गरेकी थिइन्।
हालसम्म टी २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा छ जना खेलाडीले एकै खेलमा ६ विकेट लिएका छन्।
चन्दको प्रदर्शन अगाडि उत्कृष्ट प्रदर्शन मलेशियाकी मास इलिसाको थियो जसले चीनविरुद्ध गएको जनवरीमा भएको खेलमा ३ रन दिएर ६ विकेट लिएकी थिइन्।
आफ्नो पहिलो खेलमा उत्कृष्ट बलिङ गरेको बोत्स्वानाकी बोत्सोगो एमपेडीको ८ रन दिएर ६ विकेट लिएको कीर्तिमान पनि पछाडि पारिन्।
माल्दिभ्सका नौजना शून्य रनमै आउट भएका थिए। हाम्जा नियाजले नौ र हाफ्सा अब्दुलाहले चार रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।