काठमाडौं- मण्डेकाजी, एक अथक योद्धा। जो हार खाँदा पनि थाकेनन् । थाकुन् पनि किन? उनको मनमा इख र प्रेरणा दुवै थियो।
१२औं सागमा करातेले प्रवेश नै नपाएको इख उनमा थियो। त्यसमाथि उनलाई प्रेरणा दिने बाबु थिए।
यिनै इख र प्रेरणाले खारिएका मण्डेकाजीले आज नेपाललाई दुई वटा स्वर्ण दिलाए।
मण्डेकाजी श्रेष्ठ अर्थात् दक्षिण एसियाली खेलकुद सागमा एकै संस्करणमा २ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी।
उनले सातदोबाटेस्थित कराँते हलमा व्यक्तिगत काता र टिम कातामा नेपाललाई २ स्वर्ण दिलाएका छन्।
स्वर्ण जितेपछि यसको जस उनले आफ्ना बाबुलाई दिए। ‘मलाई परिवारबाट एकदमै सहयोग भयो। बुबाले हार्यो भनेर निराश नहोउ भनेर सधैं भन्नु हुन्थ्यो’ स्वर्ण हातपारेपछि नेपाल लाइभसँग मण्डेकाजीले आफ्ना बाबुलाई सम्झँदै भने, ‘तिमीलाई न खानको चिन्ता छ, न लाउन नै कमी छ। केहीको चिन्ता नलिनु मात्रै खेलिरहनु।’
सायद बाबुबाट यही अपेक्षा गरेका मण्डेकाजीले परिवारको भरपुर समर्थन पाए। परिवारको समर्थन र आफ्नो पसिनालाई मण्डेकाजीले खेर दिएनन्। र उनको नाममा दुई वटा स्वर्ण नेपालले प्राप्त गर्यो।
यसको भागिदार त्यति नै मात्रामा उनी आफ्ना गुरुलाई पनि सम्झन्छन्।
‘गोल्डमेडल नै जित्छु भन्ने लक्ष्य नै थियो। प्रशिक्षकले पनि त्यति अनुसार कोच गर्नुभयो, हौसला दिनुभयो,’ मण्डेकाजीले आफ्ना गुरुलाई जितको भागिदार मध्येको एक हिस्सा सम्झदै भने, ‘तिम्रो पर्फमेन्स पहिलाभन्दा राम्रो छ, स्वर्ण जित्छौं भनेर गुरुले हौसला दिइरहनुभयो।
११औं सागमा छनोट भएर पनि खेल्न नपाएको उनको अमिलो क्षणलाई अहिले एकै पटक दुई वटा स्वर्णले मह्लमपट्टी लगाएको छ।
उनी त्यसबेला ३/४ महिना नेपालमै क्लोज क्याम्पमा बसेर तालिम गरेका थिए। पछि विदेशमा गएर तालिम लिने भन्दै उनी थाइल्याण्ड पुगे। जहाँ बिरामी भएर उनी नेपाल फर्कनु परेको थियो। त्यसबेलादेखि नै उनलाई स्वर्णको तिर्खा लागिसकेको थियो।
त्यो तिर्खा उनले १२औं सागमा समेत मेटाउन पाएनन्। ‘दुर्गाग्य नै भन्छु १२औं सागमा करातेले प्रवेश पाएन। यसको इख मलाई झन बढ्दै गयो,’ मण्डेकाजीले ११ र १२औं सागमा खेल्न नपाउँदाका नमिठो क्षण एकै सागमा सुनाए।
तर पनि उनले हार मानेनन्। खेल्नुपर्छ र जित्नुपर्छ भन्ने मात्रै सोच उनको मनमा थियो।
‘यो इखले झनै मलाई स्पात बनायो। मैले साग खेल खेल्नुपर्छ। र नेपाललाई स्वर्ण दिलाउनु पर्छ भन्ने लाग्यो,’ विजय भावमा उनी सुनाउँछन्, ‘कहिल्यै हरेस नखाई निरन्तर अभ्यासमा रहें। अहिले पनि अभ्यासमै छु।’
करातेमा भारतले सहभागिता नजनाए पनि नेपालले स्वर्ण जितेको भन्ने पनि केही अनुमानहरु छन्। बलियो प्रतिद्वन्द्वी भारत अनुपस्थितको फाइदा नेपालले उठाएको हो त? नेपाल लाइभको यो प्रश्नमा उनी सहमत छैनन्। उनी भन्छन्, ‘भारतभन्दा हामी कमजोर होइन। भर्खरै मात्रै पनि ५औं साउथ एसियन च्याम्पिनसिपमा भारतसँगै फाइनल खेलेर आएको हो। त्यहाँ भारतलाई नै पराजित गरेर स्वर्ण हात पारिएको थियो। त्यसकारण भारत नभएर हामीलाई सजिलो भएको हो भन्न मिल्दैन। हामी पाकिस्तान र श्रीलंकालाई बलियो मान्छौं।’
२/३ हप्ता अघि बंगलादेशमा भएको साउथ एसियन च्याम्पियनसिपले पनि सागमा स्वर्ण जित्न धेरै हौसला दिएको उनी बताउँछन्।
विजयी मण्डेकाजीको अबको लक्ष्य के भन्नेमा उनी अहिले नै केही भन्न सक्ने अवस्थामा छैनन्। केही बेर सम्झँदै उनी भन्छन्, ‘स्पेसल यही गर्छु भन्ने त केही छैन। जे भए पनि खेललाई निरन्तरता भने दिइरहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।