दमास्कस- हिंसा जारी रहेको सिरियाको पूर्वी सहर गुटामा बिहीबार पुर्याइने भनिएको मानवीय सहायता कार्यक्रम हिंसाकै कारण रोकिएको छ।
गुटामा जारी द्वन्द्वका कराण त्यहाँ पुग्न नसकिने भएकाले कार्यक्रम नै स्थगित गरिएको रेडक्रसको इन्टरनेसनल कमिटी (आइसिआरसी) ले जनाएको छ।
यस्तो अवस्थामा मानवीय सहयोगको कार्य अघि बढाउन नसकिने भएको हुनाले स्थगित गरिएको आइसिआरसीका प्रवक्ता इन्गी सेदकीले बताएका छन्।
गत सोमबार पनि सिरियाको गुटा क्षेत्र नजिकै पुगेका संयुक्त राष्ट्रसंघीय सहायताकर्मीको एक समूहले सहायता वितरणको कार्यक्रम छोट्याउनु परेको थियो।
सो क्षेत्रमा केही हप्तायता हिंसा जारी रहेका कारण मानवीय सहायताका लागि सोमबार गुटा नजिकैको क्षेत्रमा पुगेर सहायताकर्मीले अत्यावश्यकीय सामान सानै मात्रामा भए पनि वितरण गर्न पाएका थिए।
हिंसाको त्रास नरोकिएको भन्दै उक्त संस्थाले आफ्ना कार्यक्रमलाई छोट्याउन लागेको बताइएको थियो। सिरियाको गुटामा अझै पनि सिरियाली सैनिकको हवाई हमला रोकिएको छैन।
दुई सातायतादेखि गुटा सहरमा जारी द्वन्द्वको कारण साहायताकर्मी पुग्न सकेका छैनन्। युद्धको चपेटामा करिब ४ लाख मानिस परेका छन् र ती खानेकुरा नपाएर मरिरहेको बताइएको छ।
रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री उपलब्ध गराउन नसकिएको राष्ट्रसंघले जनाउँदै आएको छ।
गुटामा जारी हिंसाको पछिल्लो तथ्यांक अुनसार गत दुई सातामा ७ सय ६० जना सर्वसाधारण मारिएका छन्।
सिरियामा जारी करिब सात वर्ष लामो द्वन्द्वका क्रममा गुटामा भएको हिंसालाई ठूलो रक्तपातपूर्ण कारबाहीका रूपमा हेरिएको छ। एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।