काठमाडौं- यस उप निर्वाचनमा सात उम्मेदवारले शून्य मत प्राप्त गरेका छन्।
यसरी शून्य मत पाउनेमा राप्रपा र स्वतन्त्र उम्मेदवार रहेका छन्। शिवराज नगरपालिका-१०मा राप्रपा (संयुक्त)का उम्मेदवार नूर मोहम्मद मनिहारले एक मत पनि पाएनन्। शनिबार भएको उपनिर्वाचनमा उनले शून्य भोट पाएका हुन्। बाराको बारागढी गाउँपालिका-१ मा स्वतन्त्र उम्मेदवार नरेश पाशवानले पनि शून्य मतमै चित्त बुझाए।
रौतहटको गढीमाई नगरपालिकामा पनि चार जना स्वतन्त्र उम्मेदवारले शून्य मत ल्याए। वडा नम्बर २को उपनिर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका नथुनी पाशवान, विनय साह तेली, सकुर मिया, हविब राय भाँटले खाता खोल्न सकेनन्।
महोत्तरी बलवा नगरपालिका-२मा स्वतन्त्र उम्मेदवार सुबोध साहले शून्य मत ल्याए भने अर्का स्वतन्त्र उम्मेदवार हेमन्तकुमार साहले १ मत मात्रै ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।