काठमाडौ- सत्तारुढ नेकपाले निर्वाचनमा उठ्न टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उठेका एक उम्मेदवार विजयी भएका छन्।
प्युठान ऐरावती-२मा स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष जितेका हुन्। नेकपाका कार्यकर्ता रहेका भीमेशकुमार घर्ती मगर आफ्नै पार्टीले उठाएको प्रतिस्पर्धीलाई पछाडि पार्दै विजयी भएका छन्।
पार्टीले जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। घर्तीले ८ सय ५५ मत पाए भने नेकपाले समर्थन गरेका जनमोर्चाका उम्मेदवार भक्तबहादुर बिकले ५ सय ४ मत प्राप्त गरेका थिए। कांग्रेसका भुपाल जिसीले ३ सय ५६ मत ल्याए।
भिमेशकुमार शनिबार ४३ वडामा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जित्ने एकमात्र व्यक्ति हुन्।
त्यस्तै प्युठानको ऐरावती गाउँपालिका-१को वडाअध्यक्षमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार द्रोणप्रसाद पाण्डे विजयी भएका छन्।
आइतबार दिउँसो सकिएको मतगणनामा पाण्डेले ६ सय ९६ मत पाए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमर रेश्मी मगरले ६ सय ८७ मत पाएर पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।