पोखरा- नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको ब्याडमिन्टन टिम इभेन्टमा दुई वटा पदक पक्का गरेको छ।
पोखरामा आइतबारदेखि सुरु भएको ब्याडमिन्टनमा नेपाल महिला तथा पुरुषतर्फको समूह इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेको हो।
नेपालका रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९ को सोझो सेटमा पराजित गरे। अर्को खेलमा नेपालका दीपेश धामीले भुटानका निदुप दोर्जेलाई २–० को सोझो सेटमै पराजित गरे। उनले निदुपलाई २१–१३ र २१–१४ को सेटमा पराजित गरेका हुन्।
पुरुष टिमकै अर्को खेलमा नेपालका प्रिन्स दाहालले भुटानका नोर्बु ड्रडुपलाई २१–१२ र २१–५ को सेटमा हराए।
महिला तर्फको खेलमा नेपालकी नङ्सल तामाङले बंगलादेकी शाल्पा अख्तरलाई ३–१ को सेटमा पराजित गरिन्। उनले शाल्पालाई २१–१८, १५–२१ र २१–१७ को सेटमा पराजित गरेकी हुन्। अर्को खेलमा नेपालकी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को सेटमा हराइन्।
के भन्छन् प्रशिक्षक?
पदक सुनिश्चित भएपछि नेपालका प्रशिक्षक सुदीप योञ्जनले टफ गेममा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा जित निस्केको बताए। उनले सेमिफाइनलमा पनि आइतबार जस्तै खेलाडीले सतप्रतिशत खेलेर फाइनल पुग्ने सम्भावना रहेको बताए।
बंगलादेशका प्रशिक्षक गौतम चण्डुपालले रेफ्रिका कारण आफूहरुले हार बेहोर्नुपरेको दाबी गरे। ‘हाम्रो तर्फको प्रहारलाई लाइन रेफ्रीले धेरैजसो आउट लिदिएका कारण पराजित हुनुपरेको हो’ उनले असन्तुष्टी जनाए।
पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भइरहेको खेलमा ७ स्वर्ण, ७ रजत र १४ कास्य गरी २८ पदकका लागि ७ देशका ९४ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।