काठमाडौं- शनिबार भएको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। स्थानीय तह अन्तर्गत ४३ वडाध्यक्षका लागि निर्वाचन भएकोमा ३९ वटाको नतिजा आइसकेको छ।
अन्तिम मत परिणाम आएका ३९ वडामध्ये, नेकपा (तत्कालीन एमाले वा माओवादी केन्द्र)ले २०७४ सालको निर्वाचनमा जितेका ७ वटा वडाको नेतृत्व गुमाएको छ। यद्यपि, उसले अन्य दलले त्यतिबेलाको चुनावमा जितेका ८ वटा वडाको नेतृत्व हत्याएको छ। समग्रमा २२ वटा वडाको नेतृत्व जितेको छ।
त्यस्तै कांग्रेसले ७ वटा वडाको नेतृत्व अन्य दलबाट खोसेको छ। उसले ८ वटा वडाको नेतृत्व गुमाएको छ। ३९ वटा वडाको नतिजामा उसले ११ वटा वडाको नेतृत्व जितेको छ।
समाजवादी पार्टीले नेकपा, कांग्रेस र स्वतन्त्र उम्मेदवारले जितेका १/१ गरी ३ वटा वडाको नेतृत्व हत्याएको छ। त्यस्तै, राजपाले स्वतन्त्र उम्मेदवारले जितेको एउटा र विगतमा आफैंले नेतृत्व गरेको अन्य दुई गरी ३ वटा वडाको नेतृत्वमा विजय हासिल गरेको छ।
अब धरान उपमहानगरपालिका– ७, बलवा नगरपालिका– २, ऐरावती गाउँपालिका १ र २ को मत परिणाम आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।