बैतडी- उपनिर्वाचन सम्पन्न भएका बैतडीका तीन वडामा दुईमा नेपाली कांग्रेस र एकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा )विजयी भएका छन्। शनिबारराति सम्पन्न मतगणनामा दोगडाकेदार ४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी ४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका १ मा कांग्रेसका गजेन्द्र बहादुर चन्द विजयी भएका हन्।
दोगडाकेदार ४ मा विजयी भट्टले निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेन्द्रप्रसाद भट्टभन्दा १०० बढी भोट प्राप्त गरे। कूल खसेको १ हजार ९८ मतमध्ये विजयी भट्टले ५८४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी भट्टले ४८४ मत प्रप्त गरे। यस्तै राप्रपा संयुक्तका देवसिंह खत्रीले ६ मत पाए भने २४ मत बदर भयाे।
यस्तै पुर्चाडी नगरपालिका ४ मा नेकपाका धानुक १०५ मत बढी लिएर विजयी भएका छन्। कूल खसेको १ हजार ३३० मतमध्ये विजयी धानुकले ६६३ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गरे। यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर बोहराले ३५ मत प्राप्त गरे। ७५ मत बदर भयो।
सुर्नया गाँउपालिका वडा न. १ मा कांग्रेसका उमेदवार गजेन्द्रबहादुर चन्द विजयी भए। खसेको जम्मा ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै उनी विजयी भए। उनका प्रतिद्धन्द्वी नेकपाका धनबहादुर चन्दले २ सय १५ मत पाए भने ४ मत बदर भएको थियाे।
दोगडाकेदार ४ र पुर्चौडी ४ मा यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया १ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।