गुल्मी- गुल्मीको रुरु क्षेत्र गाउँपालिका-६ रिमुवामा वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गिरीप्रसाद सिंजाली विजयी भएका छन्।
उनले कुलमत मध्ये ८ सय २ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।
सिंजालीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार वेदप्रसाद दर्लामीले ७२७ मत ल्याएर पराजित भएका छन्।
सिंजाली ७५ मतको मतान्तरले विजयी बनेका हुन्। मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रुरु क्षेत्र गाउँपालिका ४ बलेटक्सारमा भएको थियो।
उक्त वडामा ०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेग्मीको निधन भएपछि उपनिर्वाचन भएको हो।
दुई हजार ४८ जम्मा मतदाता रहेको उक्त वडामा १५ सय ४४ जनाले मात्रै मतदान गरेका थिए।
दुई मतदान स्थलमध्ये ‘क’ मा चार सय २७ महिला र तीन सय ६१ पुरुष मतदाताले मतदान गरेका थिए। भने ‘ख’ मतदान केन्द्रमा चार सय ४९ महिला र तीन सय सात पुरुषले मतदान गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।