काठमाडौं- नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा भारतलाई पराजित गर्दै स्वर्ण पदक जित्ने मनोबल बढेको बताएकी छिन्।
भलिबलको इतिहासमा पहिलोपटक नेपाली टिम साग खेलकुदको फाइनलमा प्रवेश गरेको हो। १३ औँ सागको महिला भलिबल सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराएर नेपाली महिला टिमले ऐतिहासिक उपलब्धि पायो।
जितपछि कप्तान अरुणाले आजको जितले फाइनलमा भारतसँग जित्ने आश बढेको बताइन्। ‘आजको जितले धेरै खुसी मिलेको छ, अब हामीले फाइनलमा भारतलाई हराएर स्वर्ण पदक जित्नेछौँ। चार महिनादेखिको अभ्यासको मेहनत आज देखिएको छ। यो भन्दा राम्रो खेलेर भारतलाई हराउने छौँ’ उनले भनिन्।
यसअघि साग खेलकुदमा महिला टिमले नै तीन पटक कास्य पदक जितेको थियो। महिला टिमले नै सन् १९९९, २००६, २०१६ को सागमा कास्य पदक जितेको थियो। यसैले फाइनलमा भारतसँग पराजित भए पनि नेपालको रजत पदक ऐतिहासिक उपलब्धि हुनेछ।
यसअघि समूह चरणको खेलमा नेपाल भारतसँग नै सोझो सेटमा पराजित भएको थियो। पहिलो सेट प्रतिस्पर्धात्मक खेलेको नेपाल त्यसपछिको दुई सेटमा कमजोर बनेको थियो। उक्त खेलमा आफू्हरु प्रेसर महसुस गरेकाले हार्न पुगेको अरुणाको भनाइ छ। ‘हामीले बंगलादेशलाई हराएको पहिलो खेलमा राम्ररी खेल्न नै पाएनौँ, भारतसँगको खेलमा हामी सेट भइसकेका थिएनौँ, धेरै दर्शकको माझमा हुँदाको प्रेसर पनि थियो, अब फाइनलमा त्यो कुनै प्रेसर हुने छैन। रजत त भइसक्यो अब हाम्रो लक्ष्य स्वर्णमा केन्द्रित छ’ उनले भनिन्।
नेपाली टिमका प्रशिक्षक जगदिश भट्टले पनि आफूहरुले भारतविरुद्ध राम्रो खेल देखाउन सक्ने बताएका छन्।
बाजागाजासहित घरेलु समर्थकको हौसला पाएको टिमले अब फाइनलमा भारतलाई हराउन सके कीर्तिमानी स्वर्ण जित्नेछ। भारतले माल्दिभ्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।
त्रिपुरेश्वरस्थित कभर्डहलमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले श्रीलंकामाथि सहज जित निकाल्यो। सुरुवातमै निकै राम्रो खेलेको नेपालले १६ अंक बटुल्दा ७ अंकको अग्रता बनाएको थियो। सुरुदेखि नै अग्रता बनााएको नेपालले श्रीलंकामाथि पहिलो सेटमा दबाब कायमै राख्दै २५–१४ मा जितेको हो।
दोस्रो सेटमा पनि नेपालले दमदार सुरुवात गर्यो। नेपालले ९ अंक बनाउँदा ५ अंकको अग्रता बनायो। त्यसपछि नेपालले लगातार चार अंक जोड्दै १३ पुर्यायो। दोस्रो सेटमा पनि श्रीलंकाले एक पटक पनि अग्रता बनाउन सकेन।
तेस्रो सेटमा भने श्रीलंकाले सुरुमै अग्रता बनायो। दुई अंकदेखि नै अग्रता बनाएको श्रीलंकाविरुद्ध ११ अंक बनाउँदा नेपालले भेट्टायो। त्यसपछि अग्रता बढाउँदै नेपालले १९ अंक बनाउँदा चार अंकसम्मको अग्रता बनायो। अन्तिम सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै नेपाल फाइनल पुग्न सफल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।