काठमाडौं- १३औँ साग महिला भलिबलमा माल्दिभ्सलाई पराजित गर्दै भारत फाइनलमा पुगेको छ।
शनिबार दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा भारतले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो। पहिलो सेट भारतले २५–१४ ले जित्यो। दोस्रो सेट २५–६ ले जितेको भारतले तेस्रो सेट २५–१७ ले जितेको हो।
अघिल्लो दुई सेटको तुलनामा तेस्रो सेट प्रतिस्पर्धात्मक थियो। खेलमा एक समय १२ बराबरी १३ बराबरी हुँदै माल्दिभ्सले १४–१३ मा अग्रतासमेत बनाएको थियो। तर त्यसलाई निरन्तर गर्न भने सकेन।
फाइनलमा भारतले नेपाल र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ। नेपाल र श्रीलंकाबीचको सेमिफाइनल खेल सुरु हुने तयारीमा छ।
नेपालको खेल हेर्न कभर्डहलमा उपस्थित दर्शकले माल्दिभ्स र भारतको खेल चलिरहँदा माल्दिभ्सको पक्षमा हुटिङ गरिरहेका थिए। यसअघि समूह चरणको खेलमा नेपाल भारतसँग पराजित भएको थियो भने नेपालले बंगलादेशलाई हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।