एजेन्सी- मध्य अफ्रिकी देश क्यामरुनका युवक इस्माइल इबोनले समुद्र किनारमा भेटिएका प्लास्टिकका बोतलहरू जम्मा गरेर 'बोतल बोट' (डुङ्गा) बनाएका छन्। यो बोटमा तीन व्यक्ति बसेर माछा मार्न जान सकिन्छ।
उनले यस्तो बोट बनाएर माझीहरुलाई निःशुल्क दिएका छन्। इबोनका अनुसार यसरी बनेका बोतल बोट किब्री क्षेत्रका माझीहरुलाई निःशुल्क प्रदान गरिएको छ।
यस्तो बोट बनाउन एक हजार जति बोतल लाग्दछ। यसमा सामानसँगै तीन मान्छे पनि सवार गर्न सकिन्छ। यो बोटको तौल करिब २७० किलो छ। प्लास्टिक मुक्त सहर बनाउनका लागि आफ्नो सबै पैसा एक नाफा मुक्त संगठन मदिबा एन्ड नेचरलाई दान गरेकाे उनले बताए।
बोटको पहिलो परीक्षण तूफानमा
इबोनका अनुसार सन् २०११ मा उनी विद्यार्थी रहेका बेला त्यहाँ ठूलो आँधी आएको थियो। त्यहाँ सयौं बोतलहरू जम्मा भएका थिए। प्रशासनले बाेतलहरू हटाउन कुनै चासो देखाएको थिएन। उनले ती बोतलहरू जम्मा गरे र त्यसबाट ‘इको बोट्स’ बनाउने साेंच बनाए।
उनले वरिपरिका सबै बोतलहरु जम्मा गरेर बोट बनाए। त्यसलाई आँधीमा परीक्षण गरेपछि उनले त्यसयता बोट बनाउने काम जारी राखेका छन्। र ती बोटहरु गरीब माझीहरूलाई दिँदै आएका छन्।
यो सफलतासँगै उनको कामबाट प्रेरित भएर क्यामरुनियन संगठनले पहिलो प्लास्टिक रिसाइकिलिङ प्लान्ट स्थापना गर्याे। अहिले त्यसले समुद्र, नदी र तालबाट प्लास्टिकको फोहोर संकलन गरेर प्रदूषणबाट बचाइ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।