सिरहा- सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आज बिहानबाट मतदान जारी छ। सो वडाको चारवटै मतदान केन्द्रमा बिहानैदेखि शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिइन्।
उपनिर्वाचनलाई मध्यनजर गरी सिरहाको दक्षिणी भेगमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। अहिले सो क्षेत्रमा आउजाउ गर्ने बटुवा र सवारी साधनालाई जाँचमा कडा पारीको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
उपनिर्वाचनमा तिलासी बेलहामा ७४९ र विष्णुचरण आधारभूत विद्यालय बेलहा (क), (ख) र (ग) मा दुई हजार ७०० एक गरी कूल तीन हजार ४५० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ। पहिलो स्थानीय तहको निर्वाचनपछि कल्याणपुर–१२ मा १८० मतदाता थपिएका छन्।
रिक्त रहेको सो वडाको वडाध्यक्ष पदका लागि विभिन्न आठ दल तथा स्वतन्त्र गरी १३ उम्मेदवार चुनावी मैदान छन् । वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट दिलीपकुमार यादव, नेपाली काङ्ग्रेसबाट राजकुमार मुखिया, राजपा नेपालबाट प्रदीपकुमार महतो, समाजवादी पार्टी नेपालबाट किशोरी साह, सिके राउत नेतृत्वको जनमत पार्टीबाट मो अताउल रहमान, राप्रपाबाट मो वसिर राइन र राप्रपा संयुक्तबाट मो अताबुल राइन, नेपाल लोकतान्त्रिक पार्टीबाट राजलाल सदा चुनावी मैदानमा छन्।
यस्तै सूर्यनारायण राय, श्यामबाबु दास, रामअशिष सिंह, गौरीशङ्कर यादव, हेबु मुखिया पनि स्वतन्त्र हैसियतमा चुनावी दौडमा छन्। विसं २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्ष पदमा काङ्ग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।