काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा उपराष्ट्रपति नन्दबहादुर पुनसहित विभिन्न राजनीतिक दलका नेता लगायतलाई अपशब्द प्रयोग गरी लेख्ने धादिङका आत्मराम थपलियाविरुद्ध इन्टरपोलमा डिफ्युजन जारी गरिएको छ।
डिफ्युजन नोटिस अन्तर्गत विश्वभर रहेका इन्टरपोल सदस्य राष्ट्रलाई थपलियाले नेपालको प्रचलित कानुनविरुद्ध अपराध गरेको जानकारी गराइएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) ले विद्युतीय कारोबार ऐन अन्तर्गत थपलियाविरुद्ध बुधबार डिफ्युजन जारी गरेको हो। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सदस्य राष्ट्र नेपालमा यसको शाखालाई एनसिबी भनिन्छ।
केन्द्रीय अनुसन्धान ब्युरोले थपलियाविरुद्ध विद्युतीय कारोबार अपराध ऐन अन्तर्गत कारबाही अघि बढाएपछि उसकै पत्रका आधारमा इन्टरपोलले डिफ्युजन जारी गरेको हो।
प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि प्रक्रिया अन्तर्गत अभियुक्त रहेको देशको प्रहरीलाई जानकारी र निगरानीका लागि डिफ्युजन जारी हुने गर्दछ।
ब्युरोका अनुसार थपलिया जर्मनीमा रहेको सूचना रहे पनि उनी जान सक्ने सबै इन्टरपोल सदस्य राष्ट्रले निगरानी बढाउनेछन्। थपलियाको हुलिया, पार्सपोर्ट नम्बर र तस्बिर सहितको विवरण बुधबार नै विश्वभर रहेका इन्टरपोल सदस्य राष्ट्रको नोटिसमा पुगेको छ। यसले थपलिया जहाँसुकै रहे पनि उनको नियमित निगरानी र जानकारी प्रहरीले राख्नेछ।
ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले विश्वका कुनै पनि देशमा बसेर अपराध गर्नेलाई सीमाका कारणले छुट नभएको बताउँछन्। थपलियाका हकमा उनी जहाँ रहे पनि कारबाही प्रक्रिया अघि बढेको कार्कीले बताए। उनका अनुसार ब्युरोले परराष्ट्र मन्त्रालय मातहत पनि जर्मन दूतावासमा उनको पासपोर्ट रद्दका लागि प्रक्रिया अघि बढाउनेछ।
‘हामीले कारबाही थालेका छौं, थपलिया बाहेक आर्थिक र साइबर अपराधमा संलग्न अन्य धेरैको हकमा यो लागू हुनेछ। अपराधीका लागि सीमा सहयोगी छैन भन्ने सन्देश समेत हो,’ डिआइजी कार्कीले नेपाल लाइभसँग भने।
फेसबुक आइडी नै 'आत्मराम थपलिया पागल प्रसाद हिँजडा' राखेका थपलियाको वालमा विभिन्न दल, बेलायती महारानी एलिजावेथ, धर्मगुरु पोपसहित विभिन्न व्यक्तिलाई अपशब्द प्रयोग गरेको भेटिन्छ। उनले आफूलाई कसैले केही गर्न नसक्ने भन्दै केही दिनअघि मात्र कारबाही सम्बन्धी समाचार नै पोस्ट गरेका छन्।
जर्मनीको जिना विश्वविद्यालयमा अध्ययन गरिरहेका थपलियाको टाइमलाइन हेर्दा जोकोही केही समय अचम्ममा पर्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।