काठमाडौं- प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा अनुत्पादक क्षेत्रमा रकम खर्च भएको जनाउँदै थप ऋण लिने सरकारको सम्झौताप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री रोजगार कार्यक्रमले मुलुकको ४ अर्ब रुपैयाँ स्वाहा भएको कांग्रेसले तथ्याङ्क प्रस्तुत गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन मार्फत भने, ‘त्यही असफल परियोजनाका लागि विश्व बैंकसँग १३ अर्ब ७३ करोड ऋण लिन गरिएको सम्झौताले हरेक नागरिकको शिरमाथि वैदेशिक ऋणको भार थपिन लाग्दैछ।’
सत्तापक्षबाट आचार संहिता उल्लंघन
आचारसंहिता विपरीत केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्य मन्त्रीसम्म चुनाव प्रचारमा संलग्न भएको कांग्रेसको आरोप छ।
सत्तापक्षबाट आफ्ना कार्यकर्तामाथि भौतिक आक्रमण भएको कांग्रेसले जनाएको छ। निर्वाचनलाई प्रभावित पार्नका लागि आफु अनुकलका कर्मचारीहरु निर्वाचन क्षेत्रमा खटाएको कांग्रेसले आरोप लगाएको छ। मौन अवधी सुरू भएपछि पनि कास्कीको वैदामका डिएसपीलाई सरूवा गरिएको प्रति आपत्ति जनाइएको छ।
कालापानी प्रकरणमा गम्भिर पहलकदमी भएन
भारतले नेपालको भूमिसहित नक्सा सार्वजनिक गरेको महिनादिन पुग्न लाग्दा समेत सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल सरकारले नगरेको कांग्रेसको बुझाइ छ।
‘हिजोको उग्र राष्ट्रवादको नारा यो प्रकरणमा आइपुग्दा विसर्जित हुँदै गएको छ‚’ प्रवक्ता शर्माले भने, ‘कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशंका र खतरा पनि बढेको छ।’
खै मेलम्ची ?
वर्तमान सरकारको कारण मेलम्ची खानेपानी परियोजना पुरा हुन नसकेको कांग्रेसले आरोप लगाएको छ। इटालिएन कम्पनी फर्किदा परियोजना लम्बिनुका साथै बाह्य जगतमा नराम्रो सन्देश गएको प्रवक्ता शर्माले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।