काठमाडौं- उपप्रधान तथा कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आफू संविधान संशोधनका लागि तयार भएर मात्र मन्त्रालयको जिम्मेवारीमा आएको बताएका छन्।
कानुन मन्त्रालयमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री यादवले पार्टीभित्र लामो समयसम्म छलफल गरेर संविधान संशोधन गर्ने सोचका साथ आफूले नयाँ जिम्मेवारी स्वीकारेको दाबी गरे।
मन्त्री यादवले तत्कालीन समयमा संविधान सभाबाट जबरजस्ती संविधान जारी गर्नु गलत भएको तर त्यसलाई सच्याउने अवसरको रुपमा प्रयोग गर्न आफू सरकारमा आएको उनले जिकिर गरे।
संविधान जारी हुँदा देशको आधा भाग कालो दिवस मनाइरहेकाले संविधानलाई सबैको बनाउन आफ्नो प्रयास जारी राख्ने र त्यसमा असफल भए आफू सरकारबाट बाहिरिने प्रतिवद्धता गरे।
स्थानीय तहलाई दिएको अधिकार गलत
स्थानीय तहका उपप्रमुखहरूलाई न्यायिक निरुपणको अधिकार दिइएकोमा मन्त्री यादवले असन्तुष्टि जनाए। मन्त्रालयमै शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री यादवले राजनीतिक व्यक्तिलाई कानुनी अधिकार दिएपछि स्वतन्त्र न्याय प्रणालीमै प्रश्न उठ्ने दाबी गरे।
‘संविधानमै भएको व्यवस्थाबारे मैले बोल्दैमा मात्रै केही हुँदैन तर प्रणालीमा सुधारको आवश्यकता छ। गाउँपालिकाको उपप्रमुखलाई किन कानुनी अधिकार दिइयो?,' उनले प्रश्न गरे, 'राजनीतिक व्यक्तिले कानुनी अधिकार प्रयोग गर्यो भने कसरी हुन्छ निष्पक्ष न्यायिक निरुपण?’
यादवले राजनीतिक व्यक्तिले कार्यपालिका र न्यायपालिका दुवैको अधिकार प्रयोग गर्नु सरासर गलत हुने बताए। ‘राजनीतिक व्यक्तिले कानुनी र न्यायिक अधिकार प्रयोग गर्नु गलत हो। कार्यपालिका र न्यायपालिका एकै ठाउँमा, यो कसरी सम्भव भयो?’, उनले सोधे, ’कार्यकारी पदले न्यायपालिकाको काम गर्नु उचित हुँदैन।
मन्त्रालय आउनु अघि नै झट्का
मन्त्री यादवले न्यायाधीश नियुक्तिप्रति टिप्पणी गर्दै आफूले मन्त्रालयको जिम्मेवारी नपाउँदै झट्का व्यहोर्न बाध्य भएको टिप्पणी गरे। भर्खरै मात्र उच्च अदालतको न्यायाधीशका लागि भएको सिफारिसमा पदावधि समाप्त नहुँदै उक्त स्थानमा सिफारिस गरिएको प्रति यादवले आपत्ति प्रकट गरे।
कानुनमा रिक्त रहेको एक महिनाभित्र नियुक्ति गरिने भनिएकोमा त्यस भन्दा पहिले नै गर्नु गैरकानुनी भएको मन्त्रीको दाबी छ। उनी आउनुअघि कानुनमन्त्रीको रुपमा भानुभक्त ढकालसहितको न्याय परिषद्ले उच्च अदालतमा तीन न्यायाधीश रिक्त नै नभई सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।