टोकियो- जापानका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १ सय १ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
जापानका निकै लोकप्रिय नेताको छवि बनाएका नाकासोनेले आफ्नो कार्यकालमा संयुक्तराज्य अमेरिकासँग बलियो सैनिक गठबन्धन निर्माण गरेका थिए।
सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहेका नाकासोनेले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याएका थिए। दोस्रो विश्वयुद्धपछि जापानलाई आर्थिक तथा सामरिक रुपमा बलियो राष्ट्र बनाउन नाकासोनेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग सुदृढ मैत्रीपूर्ण सम्बन्ध विकास गरेका नाकासोनेले जापानका लागि अमेरिका सदैव अति महत्वपूर्ण साझेदार मुलुक रहेको बताउने गर्थे।
जापानको माथिल्लो सदनका सदस्य समेत रहेका नाकासोनेका छोरा हिरोफुमी नाकासोनेको कार्यालयले आफ्ना बुबाको निधन भएको जानकारी दिए। तर उनले मृत्युको कारणका बारेमा विस्तृत केही उल्लेख गरेका छैनन्।
पूर्व प्रधानमन्त्री नाकासोनेले दोस्रो विश्वयुद्धकालीन सम्झौताहरुमा फेरबदल गरी सैनिक प्रविधि अमेरिकालाई निर्यात गर्नुका साथै जापानको वार्षिक रक्षा बजेटको सीमालाई हटाएका थिए।
जापानमा राष्ट्रवादी छवि बनाएका नेता नाकासोनेले जापानमा रेल र टेलिफोन अपरेटर प्रणालीलाई निजीकरण गरेका थिए। उनका आर्थिक नीतिहरु बजार उदारीकरणतर्फ केन्द्रित थिए।
नाकासोनेले दोस्रो विश्वयुद्धकालीन तिक्ततालाई थाँती राख्दै चीन र दक्षिण कोरियासँग मैत्री सम्बन्ध विकास गरेका थिए। उनी दक्षिण कोरिया भ्रमण गर्ने पहिलो प्रधानमन्त्री थिए।
अप्रत्यक्ष कर प्रणालीमा व्यापक वृद्धि गर्ने योजना अघि सारेका कारण सन् १९८७मा उनको पार्टी संसदीय निर्वाचनमा पराजित भएको थियो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।