काठमाडौँ- नेपाल खाद्य संस्थानले दसैंका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ।
संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण गर्दैछ।
दसैंका बेलामा मासुको मूल्यलाई नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट स्वस्थ खसीबोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याउने गर्दछ।
संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले अहिले मुस्ताङबाट ५ सय च्याङ्ग्रा आइसकेकाले त्यसलाई बिक्री गरिने जानकारी दिँदै अरु ५ सय च्याङ्ग्रा आउने क्रममा रहेको बताए।
दाङ र हेटौँडाबाट एक हजार ५ सय खसी ल्याउन लागेकोमा वर्षाका कारण केही बाटोमा रोकिएका छन् भने २ सय खसी काठमाडौँमा आइसकेका छन्।
असोज १० गतेसम्म थापाथलीस्थित संस्थानको गोदामबाट बिक्री वितरण गरिने प्रमुख न्यौपानेले जानकारी दिए। अहिले गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल बढेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।