भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका-६, कटुन्जे निवासी श्रीमती रोमकुमारी तिमिल्सिनाले ९५ वर्ष कटेपछि गत कार्तिक २९ गते पाञ्चभौतिक शरीर विसर्जन गरिन्। उनी स्व. बटुकृष्ण तिमिल्सिनाकी धर्मपत्नी थिइन्।
२०२० साल अगाडि काठमाडौंको खिचापोखरीमा रहेको घरमा बस्दा त्यतिबेला प्रतिबन्धित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलगायतलाई उनका पति बटुकृष्णले नियमित खान बोलाउँथे। राजनीतिमा आफू सक्रिय नभए तापनि पति बटुकृष्णको आतिथ्यमा आउने नेताहरुको सेवामा सदैव तत्पर हुन्थिन् उनी। घरमा नेताहरु आउनेजाने क्रम बाक्लिएपछि रोमकुमारी राजनीति बुझ्ने भएकी थिइन्।
पति श्रीबटुकृष्ण साहित्यमा रुचि राख्दथे। उनी साहित्यिक पत्रिका पनि चलाउथे रे। आध्यात्मिक थिए। बेलाबेलामा घरमै साहित्यकारहरुको जमघट पनि भइरहन्थ्यो।
२००७ साल अघिदेखि नै उनमा राजनीतिप्रति चाख बढेको थियो। उनले बढीजसो कांग्रेसका नेताहरूलाई नै सहयोग गरे। २००७ सालमा राजा त्रिभूवन भारतमा आश्रय लिन गएपछि बालकमै राजा भएका ज्ञानेन्द्रको नाममा निकालेको सिक्का लिएर बटुकृष्ण त्रिभूवनलाई देखाउन दिल्लीसम्म पुगेका थिए।
केही समयको अन्तरालपछि बटुकृष्णको परिवार काठमाडौँबाट सरेर पुर्ख्यौली घर भक्तपुरको कटुन्जेमै बस्न थाल्यो। बटुकृष्ण र रोमकुमारीबाट ५ छोरी र ४ छोरा भए।
उनका भान्जा मनमोहन भट्टराई, हरिबोल भट्टराई कांग्रेसमा सक्रिय थिए। तर अर्का भान्जा अनन्तराम भट्टराई भने प्रहरीमा एआइजीबाट निवृत्त भए। पञ्चायतकालमा भान्जाहरुको मावलीमा बसोबास र आवतजावत बाक्लै हुने गरेको थियो।
रोमकुमारीका घरमा साधु/सन्यासी/जोगीको अभ्यागत नियमित रूपमा भइरहन्थ्यो। प्रायजसो २/४ जना टुट्दैनथे। भोलिपल्ट खाना खुवाएर यथोचित दान दिएर बिदाई गरिन्थ्यो।
घरकै परिसरमा रहेको मन्दिरमा साधुसन्त आएर बस्थे। साधुहरुको अभ्यागतमा रोमकुमारी सदैव अग्रसर हुन्थिन्।
गणतन्त्रवादी रामराजाप्रसाद सिंहलाई भूमिगतकालमा आश्रय
कुरा हो २०२८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन ताकाको। राष्ट्रिय पञ्चायत निर्वाचनमा स्नातक कोटाका लागि ४ सिटमा चुनाव हुने निश्चित भयो। गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह पनि उम्मेदवार बने।
सिंहले 'नयाँ युगको शुरुवात' भनी चुनावी घोषणापत्र जारी गरेका थिए। सो घोषणापत्रमा देशलाई गणतन्त्र आवश्यक छ भनी उल्लेख गरिएको थियो। गणतन्त्रको माग गर्ने क्रान्तिकारी घोषणापत्र भएका कारण प्रहरी गिरफ्तारीबाट बच्न सिंहलाई भूमिगत गराइयो। उनी भूमिगत भएसँगै उनको घोषणापत्र पनि लुप्तप्राय नै भयो। तर पनि सो घोषणापत्र लुकीलुकी पढ्ने जमात पनि ठूलै थियो।
सिंहलाई ठाउँ सारीसारी लुकाइन्थ्यो। युवा कांग्रेसी अनारसिंह कार्की, मार्शल जुलुम शाक्य, पुरुषोत्तम बस्नेतलगायतले काठमाडौंका विभिन्न टोलमा ठाउँ सार्दै लुकाएका थिए। काठमाडौंमा बढी समय बस्न उपयुक्त नहुने निष्कर्ष निकालिएपछि टाढाको आश्रयस्थल खोजिएछ।
अर्का युवा कांग्रेसी हरिबोल भट्टराईले सबैको सल्लाहमा आफ्नो मामाघर भक्तपुरको कटुन्जे लगेछन्। कटुन्जेमा मामा बटुकृष्ण तिमिल्सिनाको घर थियो। मामाले सहजतासाथ रामराजालाई आफ्नो घरमा आश्रय दिए।
रामराजासँग अत्यन्त घनिष्ठता भएछ। दिनभर रामराजाले बटुकृष्ण तिमिल्सिना परिवारलाई श्रीकृष्णलीलालगायत आध्यात्मिक सत्संगले मख्ख पारेछन्। बटुकृष्णको घरमा सिंह पुराण भन्ने व्यासजस्तो गरी प्रवचन दिएछन्। कहाँको गणतन्त्रवादी राजनीतिक नेता सिंह, कहाँको आध्यात्मिक भजन। जे होस् उनीमा आध्यात्मिक क्षमता थियो भन्ने कुरा चाँहि यही विषयले प्रष्ट हुन्छ।
रामराजाप्रसाद सिंहको गणतन्त्रका लागि संघर्ष नामको आत्मवृत्तान्तमा कटुन्जेको बसाईबारे सजीव वर्णन छ।
.jpg)
रामराजाकै काका जमुनाप्रसाद सिंहलाई पनि जयप्रकाश नारायणवाला घटनामा बटुकृष्णले घरमा आश्रय दिएका रहेछन्।
हरिबोलका मामा बटुकृष्ण विद्वान थिए। उनीसँग साहित्यलगायत अरु विषयमा कुरा भएको रामराजाले उक्त पुस्तकको पृष्ट १०४ मा उल्लेख गरेका छन्।

हरिबोलकी मामलकी हजुरआमा पनि थिइन् त्यतिबेला। उनको उमेर त्यस्तै ८०/८५ वर्ष थियो होला। तर उनको साहस युवा अवस्थाको भन्दा कम थिएन। घरका सबै बालबच्चासमेत उस्तै साहसिला लाग्थे। पुलिस आएको समयमा उनै हजुरआमाले मकैबारीको छाप्रोमा आफूलाई लुकाउने र डराउनु पर्दैन भनी ढाडस दिने गरेको सिंहले लेखेका छन्।
तराईबासी कोही आएको छ कि भनी सोधीखोजी गर्दै एकपटक प्रहरी पुगेछन्। बटुकृष्णकी छोरी सानुले 'सर्लाहीमा मौजा भएकाले मधेशवासी आइरहन्छन्। तर ४/५ दिन अगाडि नै फर्किसके' भन्दिइछन्। त्यसपछि प्रहरी फर्केछन्। त्यसबेला प्रहरीको सुइँको पाउने बित्तिकै रामराजालाई बुइँगलमा लुकाइएछ।
'धेरै दिन एकै ठाउँमा राख्न हुँदैन' भनी हरिबोल आएर अन्यत्र आश्रयस्थलमा लैजाने भनेछन्। घरकी ती हजुरआमासमेतले 'हामी यहीँ राख्छौं, केही हुँदैन' भनी नलैजान कर गरेछन्। तर पक्राउको डरले अन्यत्र सारिएछ।
कटुन्जेमा कति बसेको भन्ने किताबमा त छैन। तर १९ दिन राखिएको रहेछ। त्यहाँबाट पूर्वतिर हरिबोलले अर्को आफन्तको घरमा राखे, जहाँ पहिले पहिरोमा हात्ती पुरिएको हाडखोर भेटिएको थियो भनी रामराजाले लेखेका छन्। त्यताबाट पछि उहाँलाई जनकपुर तिर लगिएछ।
'आफ्नो जीवनमा लगातार सबैभन्दा राम्रो खाना कहीँ खाएको छु भने भूमिगत बस्दा मैले बटुकृष्णजीकै घरमा खाएको छु। यो मेरो सौभाग्य हो,' भनी रामराजाले लेखेका छन्। रामराजालाई त्यो राम्रो खाना खुवाउने त्यतिबेला घरकी बुहारी भर्खरै दिवंगत भएकी रोमकुमारी तिमिल्सिना नै थिइन्। स्वर्गीय बटुकृष्ण र रोमकुमारीलाई गणतन्त्रका अभियन्ता भनी सम्मान गरिएको थियो।
२०४२ साल असार ६ गतेको बमकाण्डपछि बटुकृष्णलाई रामराजा समर्थक भनी सर्लाहीको घरमा व्यापक खानतलासी गरिएछ। अनि प्रहरीले पक्राउ गरेछ। १७ दिन थुनेपछि प्रमाण फेला नपरेपछि बटुकृष्णलाई छाडिएछ।
व्यक्त/अव्यक्त रुपमा प्रजातान्त्रिक र गणतन्त्रवादी रामराजाप्रसाद सिंहलाई त्यस्तो पञ्चायती कालरात्रीमा निर्भय आश्रय दिने र सेवा टहल गरी सुरक्षा दिनेमध्येकी एक रोमकुमारी तिमिल्सिनालाई 'गुमनाम गणतन्त्रवादी' भन्नु अन्यथा नहोला। हिजो माओवादीकालमा माओवादीसँग भेट्नसम्म डराउने यो समाजमा त्यतिबेला निर्भय भएर पहिलो गणतन्त्रवादी नेता रामराजालाई आश्रय दिने र पक्राउबाट बचाउने यी रोमकुमारीसमेतको प्रशंसा यति शब्दमा कमै होला।
स्वर्गीय रोमकुमारीको आत्माले शान्ति पाओस्। गणतन्त्र फलोस्, फुलोस्। अस्तु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।