काठमाडौं- सामान्य प्रशासन मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायत अन्य मन्त्रालयका १ हजार ४ सय २४ कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले भदौ ७ देखि ३१ को बीचमा स्थानीय निकायमा कामकाज गर्न भन्दै ठूलो संख्यामा कर्मचारी पठाएको हो।
मन्त्रालयले ३० गतेमात्र २ सय २० जना कर्मचारीको सरुवा गरेको थियो। स्थानीय तहमा कामकाज गर्न राजपत्र प्रथम श्रेणी र दोस्रो श्रेणीका कर्मचारीलाई मन्त्रालयले सरुवा गरेको हो।
पहिलो चरणमा मन्त्रालयले १ हजार ४ सय २४ कर्मचारी सरुवा गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले जानकारी दिए।
उनले पहिलो चरणमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नियमित अन्तर्गतका विभिन्न मन्त्रालय, निकायमा सरुवा गरिएको बताए।
यसपटक मन्त्रालयले नियमित सरुवाभन्दा पनि स्थानीय विकास मन्त्रालयमा बढी कर्मचारीको सरुवा गरेको छ। काफ्लेका अनुसार, उपसचिव १ सय १७ र अधिकृत ८० जना स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै, नायब सुब्बा ७ सय ६६ र खरिदार ४ सय ६१ सरुवा गरिएका छन्।
सबै सरुवा मन्त्रालयले निर्वाचन आयोगको सहमतिमा गरेको जनाएको छ। शाखा अधिकृत काफ्लेले सरुवा गरिएका कर्मचारीले रमाना पत्रसमेत लिन थालिसकेको बताए।
हेर्नुस् को कहाँ सरुवा भए?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।