राजविराज- नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ।
जारी मतगणनामा कांग्रेसले दुई नगरपालिका र चार गाउँपालिकासहित ६ स्थानीय तहमा अग्रता लिएको छ । कांग्रेसका उम्मेदवारले कञ्चनरुप र खडक नगरपालिका तथा विष्णुपुर, तिलाठी कोलालाडी, अग्निसाइर कृष्णा सवरन र बेल्ही चपेना गाउँपालिकामा अग्रता लिइरहेका छन्।
कांग्रेसलाई संघीय समाजवादी फोरमले पछ्याइरहेको छ । संघीय फोरम दुई नगरपालिका र तीन गाउँपालिकासहित ५ स्थानीय तहमा अगाडि छ । हनुमाननगर कंकालिनी र बोदे बसराइन नगरपालिका तथा महादेवा, बलान बिहुन र तिरहुत गाउँपालिकामा संघीय फोरमले अग्रता लिइरहेको छ।
यस्तै, नेकपा एमालेले सुरुंगा र सप्तकोसी नगरपालिकामा अग्रता लिइरहेको छ भने राष्ट्रिय जनता पार्टी (राजपा) डाक्नेश्वरीमा अगाडि छ । शम्भुनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले अग्रता लिइरहेको छ।
राजविराज नगरपालिकामा भने वडा नम्बर १५ का राजपाका वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएकाले मतगणना सुरु गरिएको छैन । सो वडामा भोलि मतदान हुने भएको छ । राजपाले जसकरण मण्डललाई वडाध्यक्षको उम्मेदवार बनाएको छ।
गाउँपालिकातर्फ राजपाले रुपनी र नयाँशक्ति पार्टीले छिन्नमस्तामा अग्रता लिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।