धनगढी- बाँसको भाटामा पाल टाँगिएको छ। त्यही पालको सहारामा डेढ वर्षदेखि जीवन व्यतित गरिरहेका छन् धनगढी उपमहानगरपालिका-१७, धुरजन्ना नयाँ बस्ती शिविरका सुकुम्बासी परिवारजनहरु।
२०७५ असार १६ अगाडि उनीहरु गोदावरी नगरपालिकास्थित हरैया शिविरमा बस्दै आएका थिए। दाङका उद्योगी रणबहादुर शाहको सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालि, पोखराले २०७४ माघ २५ गते कैलालीको हरैयास्थित जमीन किन्यो। जमीन किनबेचपछि वस्तीलाई कहाँ व्यवस्थापन गर्ने भनेर चुनौती थपियो।
जसको फलस्वरुप सौभाग्य रियल स्टेट एन्ड हाउजिङ प्रालिले ‘एक कठ्ठा जग्गा, दुई कोठे पक्की घरका साथै खानेपानी, शौचालय, विद्युतको व्यवस्था गर्ने’ भनेपछि आधा बस्ती हरैयाबाट धुरजन्ना सरेका थिए।
सुकुम्बासी मीन गुरुङले भने, ‘डेढ वर्ष भयो न जग्गा नाममा छ न त घरनै बनेको छ।’ गुरुङ २०६३ सालतिर हरैया शिविरमा आएर बसेका थिए। उनले थपे, ‘पोखराका शंकर कार्कीले हामीलाई जग्गा, घर र अन्य आधारभुत व्यवस्था गर्छु भनेर यहाँ ल्याएका थिए, तर अहिलेसम्म कुनै व्यवस्था गरिएको छैन।’
गुरुङसहित हरैया शिविरबाट ६२ घरपरिवार धुरजन्नामा बसाइ सरेका थिए। नयाँ बस्ती शिविरमा बसेका ६२ घरपरिवारलाई अहिले आधारभूत आवश्यकता पनि पुर्याउन मुस्किल छ। ६२ परिवारका लागि खानेपानीको सुविधा दुई वटा हाते पम्प (नल्का)ले धानेको छ। दिसापिसावका लागि ३ वटा शौचालय बनाइएको छ।
प्यानसहितको शौचालयलाई पनि पाल र बाँसकै आडमा ठड्याइएको छ। ‘तीन वटा शौचालय थियो त्यो पनि भरिएपछि दिउँसो खोलामा र राति यही खुल्ला चौरमा दिसापिसाब गर्छौं,’ स्थानीय हरिना बोहराले भनिन्।

मुख्य चाडपर्वका समयमा देश उमंगमा रंगिएका बेला यस बस्तीका सुकुम्बासी परिवारमा कुनै हर्ष छाएन। जसोतसो दसैं र तिहार मनाएको स्मरण गर्दै हरिनाले भनिन्, ‘अहिले त चाडपर्व पनि साउनको अँधेरी रातझैं लाग्ने गरेको छ।’ उनले हरैयामा हुँदा नदीमा गिट्टी कुटेर पनि जिविकोपार्जन गर्ने गरेको स्मरण गरिन्। ‘यहाँ त ज्याला-मजदूरी गरुम् भने पनि दुर्गम भएकाले पाइँदैन,’ उनले बह पोखिन्।
हरिनासहित शिविरमा रहेका स्थानीयले गत वर्ष शिवगंगा नदीमा तटबन्ध गर्नका लागि मजदूरी गरेका थिए। उनले आडैमा बगिरहेको नदीतर्फ देखाउँदै भनिन्, ‘कैही पैसा आउँछकी भनेर यो नदीमा तटबन्धनका लागि मजदूरी गर्यौं। तर, ठेकेदारले त्यसको पनि ज्याला दिएन।’ उनका अनुसार पुरुषलाई दैनिक ८ सय र महिलालाई ४ सय रुपैयाँ ज्याला दिने भनेर काममा लगाइएको थियो।
यस वस्तीका कतिपय भने परिवारको दैनिकी चलाउनकै लागि केही महिना भारतमा श्रम गर्न पुग्ने गरेका छन्। स्थानीय मीन भन्छन्, ‘जिविकोपार्जन गर्न दुई महिना भारतमा काम गरेर फर्कन्छु। यति नगरी दैनिक छाक टार्नै मुश्किल छ।’
'स्थानीय सरकारले केही गरेन'
धनगढी उपमहानगरपालिका-१७, धुरजन्नामा वस्ती बसेको डेढ वर्षभन्दा बढी भइसकेको छ। तर, स्थानीय सरकारले पनि उनीहरुका लागि केही नगरेको स्थानीयहरुको गुनासो छ।
‘हामीलाई उपमहानगरपालिकाबाट गत वर्ष प्रत्येक घरका लागि एक कम्मल र गुन्द्री दिइएको थियो,’ स्थानीय युवा मुकेश बोहराले भने, ‘त्योभन्दा अन्य कुनै व्यवस्था स्थानीय सरकारबाट भएको छैन।’
उनले वस्तीमा भएकाहरुको बसाइसराइ र जग्गा आफ्नो नाममा नभएकाले स्थानीय सरकारबाट पाउनुपर्ने सेवासुविधा पनि नपाएको गुनासो गरे। ‘५९ कठ्ठा जग्गामा हामीलाई यहाँ व्यवस्थापन त गरियो। तर, जग्गा हाम्रो नाममा छैन। जग्गालाई ८ वटा समूह बनाएर वितरण गरिएको छ,’ उनले थपे, ‘हामीलाई यहाँ व्यवस्थापन गर्नुअघि प्रतिव्यक्ति एक कठ्ठा जग्गा दिने भनिएको थियो। तर अहिलेसम्म दिइएको छैन।’
उनले अब कम्पनीका सम्बन्धित व्यक्तिसँग आफूहरुको उचित व्यवस्थापन गर्न भनेर माग राख्ने बताए।
'हरैयामा जहिल्यै राजनीति'
मुलुकमा द्वन्द्व उत्सर्गमा पुगेको समय २०६१ सालमा तत्कालीन विद्रोही शक्ति नेकपा (माओवादी)ले नै उक्त जग्गामा सुकुम्बासीलाई बसाएको थियो। उनीहरु कैलालीसहित विभिन्न पहाडी जिल्लाबाट यहाँ आएर बसेका हुन्।

तत्कालीन माओवादी नेता गौरी जोशीले आफूहरुलाई घर बनाइदिने आश्वासन दिएको सुकुम्बासीहरु बताउँछन्। ‘बस्ती पनि माओवादी नेताहरुले नै बसाए। उठीबास पनि उनीहरुलेनै लगाए,’ सुकुम्बासीहरु भन्छन्, ‘हामीमाथि जहिल्यै राजनीति मात्र गरियो।’
‘सुरुमा हामीलाई डुँडेझारीमा जग्गा दिन्छौं भनेर राखिएको थियो,’ सुकुम्बासी शिविरका डबल ताम्राकारले भने, ‘त्यहाँ प्रतिकार गर्न भनियो, हाम्रा छोराछोरी मरे, त्यहीँ खाल्डोमा गाडियो। जग्गा दिन्छौं भनेर त्यसपछि हरैया पुर्याए। अहिले त्यहाँबाट पनि उठाएर धुरजन्ना ल्याइपुर्याएका छन्।’
उनले आफूहरुको नाममा जग्गा नआएसम्म नेताको कुरामा विश्वस्त हुन नसक्ने जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।