राजविराज- नेपालको संविधानले हरेक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गरेको छ।
संविधानको धारा ३५ मा 'कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन' भनी उल्लेख छ।

यति मात्र होइन, जनस्वास्थ्य सेवा ऐन, २०७५ को परिच्छेद-२ मा सेवाग्राहीको अधिकार, कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्वका विषयमा व्यवस्था छ।
जसअनुसार प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार हुन्छ। ऐनको दफा ३ मा भनिएको छ, ‘कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन।’
ऐनले नसर्ने रोग तथा शारीरिक विकलाङ्गता, मानसिक रोगलगायत सामान्य आकस्मिक अवस्थाका सेवालाई निःशुल्क उपचारको व्यवस्था गरेको छ। तोकिए बमोजिमका आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नु प्रत्येक स्वास्थ्य संस्थाहरूको कर्तव्य हो।

तर, संविधान र ऐनले गरेका सामान्य व्यवस्था समेत कार्यान्वयन नुहँदा सर्वसाधारणले अहिले पनि आधारभूत स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्।
कतै औषधि अभाव त कतै जनशक्ति अभाव हुनु सामान्य भएको छ। तर, स्वास्थ्यकर्मीकै करण नागरिकले सामान्य स्वास्थ्य सेवा नपाउने गरेका उदाहरण पनि प्रशस्तै छन्।
.jpg)
स्वास्थ्यकर्मी र सम्बन्धित सरोकारवालाको यस्तै गैरजिम्मेवारीका कारण देशमै कतिपय यस्ता घटना छन्, जस्ले संविधान र ऐनमा भएका सबै व्यवस्थालाई ‘भद्दा मजाक’ बनाएका छन्। तिनै मध्येको एउटा घटना यतिबेला सप्तरीको खडक नगरपालिका स्थित कल्याणपुरमा भएको छ।
खडक नगरपालिका–९, लालपट्टीमा विगत ५ दिनदेखि अन्दाजी २५/३० वर्षीय एक युवक ‘हल न चल’को अवस्थामा छन्। उनका दुवै खुट्टा कुहिएर किरा पर्न थालेका छन्। मानसिक अवस्था पनि असामान्य छ। अस्पताल पुर्याउने र रेखदेख गर्ने मान्छेको अभाव छ। उनको अवस्था देखेपछि स्थानीयले नै बिहानबेलुका खानेकुरा दिएर बचाएका छन्। तर, उनको अवस्था दिनदिनै चिन्ताजनक बनेको स्थानीय नथुनी मियाँ बताउँछन्।
.jpg)
सडक किनारामा बसेका उनलाई नथुनीकै परिवारले दुई छाक खान र एकसरो कपडा दिएर बचाएको छ। अनिल महतो नाम बताउने युवकले भोजपुरी भाषा मात्र प्रयोग गर्छन्। अनिलकै कुरा मान्ने हो भने उनको स्थायी ठेगाना बारा जिल्लाको खुटुवा र मोतियारी आसपास हो। उनी कसरी लालपट्टी आए भन्ने कसैलाई जानकारी छैन। आफ्नो र परिवारको बारेमा उनले बताउन सकेका छैनन्।
.jpg)
उनको अवस्था दिनदिनै चिन्ताजनक बन्दै गएको स्थानीयवासी तथा मानसिक स्वास्थ्य परामर्श केन्द्र लहानकी परामर्शदाता रेखा चौधरी बताउँछिन्। चौधरीले स्थानीय स्वास्थ्य संस्थामा अनिलको बारेमा जानकारी गराइन्, तर स्वास्थ्यकर्मी ड्रेसिङ्ग गर्न समेत तयार नभएको चौधरीको गुनासो छ। ‘उपचार नपाउने हो भने घाउ बढ्दै जाने र ज्यानसमेत जाने सम्भावना छ,’ उनी भन्छिन्, ‘तर, जिम्मेवार निकाय नै गैरजिम्मेवार भएका कारण उनको अवस्था अझै बिग्रँदै छ।’
.jpg)
अनिलबारे खडक नगरपालिकाका मेयर हेमायु हक, प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुर, ईलाका प्रहरी कार्यालय कल्याणपुरलगायतका सबै निकायमा जानकारी गराउँदा पनि वास्ता नगरेको चौधरीको भनाई छ। ‘कसैले वास्तै नगरेपछि मैले नै प्राथमिक स्वास्थ्य केन्द्र कल्याणपुरमा पुर्याएँ,’ उनी भन्छिन्, ‘सामान्य सरसफाई भयो, तर, उनलाई थप उपचारको आवश्यकता छ। रेखदेख गर्ने मान्छे नहुँदा कसैले वास्ता गरेका छैनन्।’
.jpg)
प्राथमिक स्वास्थ्य केन्द्रले पनि चाँडै उनलाई अन्यत्र लैजान दबाब दिइरहेको चौधरीको गनासो छ। ‘जिम्मेवारी लिन कोही तयार छैन,’ उनले भनिन्। तर राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले एक जना कुरुवासहित बिरामी पठाई दिन भनेको उनले जानकारी दिइन्। मेसु दासले बिरामीको सम्पूर्ण उपचारको व्यवस्था मिलाउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।