रौतहट– रौतहटका १८ वटा स्थानीय तहमध्ये ठूला र चर्चामा रहेका तीन नगरपालिका गौर, चन्द्रपुर र गरुडा नगरपालिकामा मतगणना जारी छ।
यी तीन नगरमा क्रमश: राष्ट्रिय जनता पार्टी, माओवादी केन्द्र र एमालेले अग्रता लिइरहेका छन्।
ताजा परिणाम अनुसार गौर नगरपालिकामा राजपा नेपालका मेयरका उम्मेदवार अजय गुप्ता ४०५ सहित अग्रस्थानमा छन् । यस्तै, एमालेका शम्भु साहको ३५१ मत छ भने संघीय समाजवादी फोरमका गौरीशंकर यादवले ५९ मत प्राप्त गरेका छन् । सो नगरपालिकाको १ र २ नम्वर वडाको गणना जारी छ।
उता, चन्द्रपुर नगरपालिकामा मेयरका उम्मेदवार माओवादी केन्द्रका युवराज भट्टराईले १ हजार ६ मत ल्याएका छन् । एमालेका उद्धव रेग्मीले ७०६ र कांग्रेसका रामचन्द्र चौधरीले ७५१ मत पाएका छन्।
जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको मेयरमा एमालेका मो. करिम्उलाहले ३२५ सहित अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका सुनील यादवले १८० र माओवादी केन्द्रका विपिन जयसवालले ८८ मत ल्याएका छन् । यस्तै, संघीय समाजवादी फोरमका इन्दुराय यादवको ९३ र राजपाका रामचन्द्र गुप्ताको ३९ मत छ।
रौतहटको इसनाथ नगरपालिकाको वडा नम्बर १ मा कांग्रेसका बिगु साह बनिया र वृन्दावन नगरपालिका १ मा शेष नाजिर हुसैन विजयी भएका छन्।
रौतहटका विभिन्न नगरपालिकाको मतगणना स्थलहरुमा सञ्चारकर्मीलाई सूचना संकलन र फोटो खिच्न प्रवेशमा रोक लगाइएपछि समाचार संकलन कार्य प्रभावित भएको छ ।निर्वाचन अधिकृतहरुले मतगणना स्थलमा प्रवेशका लागि छुट्टै पासको व्यवस्था भए पनि माथीको आदेश भन्दै सुरक्षाकर्मीले गेटमा रोकेका छन्।
नेपाल पत्रकार महासघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साहले सञ्चारकर्मीलाई सहज रुपमा समाचार संकलनको वातावरण बनाउन पहल भइरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।