काठमाडौं- प्रधानमन्त्री देउवाले नेपालको ऐतिहासिक संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ बलियो बनाइने बताएका छन्।
संविधान दिवस–२०७४ को मूल समारोह समितिका अध्यक्षसमेत रहेका देउवाले संविधान कार्यान्वयन गरी मुलुकलाई अझ सुदृढ बनाउन र समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आग्रह गरे। सैनिक मञ्चमा आयोजित समारोहमा उनले दिवसले सबैलाई एकताबद्ध भई समृद्ध राष्ट्र निर्माण गर्ने कार्यमा अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेश र केन्द्रको निर्वाचनको पनि मिति तोकिएको हुनाले तीनै तहको निर्वाचन सम्पन्न भएपछि संविधान कोसेढुंगा सावित हुने बताए।
सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र संवर्द्धनको बाटो फराकिलो पारेर विभिन्न जातिको विशिष्ट अवस्थालाई ध्यानमा राखी महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसंख्यक र उत्पीडितको अधिकारलाई संरक्षण गर्न संविधान महत्वपूर्ण रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री देउवाले संविधानबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हुन पुगेको उल्लेख गर्दै बहुदलवादमा आधारित, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकालाई संविधानमा व्यवस्था गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।