काठमाडौं– दसैंमा काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुसँग बढी भाडा असुल्ने बिचौलिया र यात्रुसँग बादविवाद गर्ने सवारीसाधनका कर्मचारीविरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत भएको छ।
प्रहरीले दसैंका लागि अग्रिम टिकट बुकिङमा कालोबजारी गर्ने र यात्रुसँग बादविवाद गर्ने ३० जनाविरुद्ध मुद्दा चलाएरै कारबाही थालेको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुलाई टिकट कालोबजारी गर्ने र वादविवाद गर्ने ३० जनालाई काठमाडौंका विभिन्न काउन्टरबाट नियन्त्रणमा लिएर नजिकको वृत्तमा बुझाएको हो। वृत्तले आरोपीको कसुर अनुसार केही सार्वजनिक अपराध ऐन र ठगीमा म्याद थपेर कारबाही अघि बढाएको महाशाखाले जनाएको छ।
महाशाखा प्रमुख डिआइजी सर्वेन्द्र खनालले दसैंमा उपत्यका बाहिरिने यात्रुको सुविधा र सुरक्षाका लागि महाशाखाले विभिन्न स्थानमा राखेका सहयोग कक्ष र सादा पोसाकका प्रहरीले बिचौलिया र गालीगलौज गर्ने तथा हप्काउने दप्काउनेहरुलाई नियन्त्रणमा लिएर कारबाही थालेको बताए। ‘हामीले सहयोग कक्षमार्फत सर्वसाधारणको यात्रुलाई सुविधायुक्त र सुरक्षित बनाउने प्रयास गरेका हौं, केही बिचौलियाले ठगी गरेको भेटिएपछि विभिन्न इकाइमा पठाउने गरेका छौं,’ डिआइजी खनालले भने।
महाशाखाका अनुसार भदौ २४ यता सोमबारसम्ममा कोटेश्वर, बानेश्वर, गंगबु, कलंकी र नयाँ बानेश्वर क्षेत्रबाट ३० जना बिचौलिया टिकट कालोबजारी र वादविवादको आरोपमा पक्राउ परेका छन्।
यसरी पक्राउ परेकामध्ये वृत्त कालिमाटीले ११ जना, वृत्त बानेश्वरमा ५ र वृत्त गौशालाले एक जनाविरुद्ध ठगी मुद्दामा कारबाही अघि बढाएको छ। यस्तै नयाँ बसपार्क प्रभागले ९ जना र कोटेश्वर तथा बानेश्वर ट्राफिक प्रहरी प्रभागले ४ जनाविरुद्ध कारबाही थालेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।