काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्युयोर्क जाँदैछन्।
प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
‘जनतामा केन्द्रितः दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका लागि प्रयास’ भन्ने मूल विषयका साथ हुने महासभाको उच्चस्तरीय छलफल यही १९ सेप्टेम्बरदेखि सुरु हुँदैछ। महासभाका क्रममा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
सोही दिन उनले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री देउवा महासभामा भाग लिइसकेपछि २४ सेम्टेम्बरमा ओमनको मस्कटका लागि प्रस्थान गर्नेछन्। जहाँ खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा उनले निर्देशन दिने कार्यक्रम छ।
प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई लगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन्। उनी सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम छ।
यस्तै परराष्ट्रमन्त्री महरा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा न्युयोर्क पुगिसकेका छन्। महासभामा भाग लिन आवश्यक तयारीका लागि उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।