पोखरा– नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ४ मा चरम अन्तरविरोध चुलिएको छ। प्रदेश सरकारमा गोरखाका दुई र तनहुँका एक मन्त्रीले शुक्रबार सपथ लिएसँगै कास्की जिल्लाबाट निर्वाचित नौ सांसदले यसको विरोध स्वरुप हालका मन्त्रीमाथि अविस्वासको प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।
शुक्रबार साँझ विरोधकै बीच तनहुँका सांसद तथा संसदीय दलका नेता समेत रहेका हरिबहादुर चुमान तथा गोरखाका सांसद लेखबहादुर थापा मगर र रामशरण बस्नेतलाई मन्त्री सिफारिस गरेर सपथ गराइएको थियो। चुमानले आन्तरिक मामिला तथा कानुन, थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी र बस्नेतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका थिए।
गोरखाले पाएको २ मन्त्रीमा थापा माओवादीका हुन् भने बस्नेत एमालेका हुन्। त्यस्तै, तनहुँबाट मन्त्री बनेका चुमान पनि माओवादीकै हुन्।
माओवादीबाट निर्वाचित सांसदहरूले कास्कीले मन्त्री नपाएको भन्दै विरोध जनाएका हुन्। भूगोल हेरेर मन्त्रिमण्डल विस्तार गर्नुपर्नेमा उनीहरूको जोड थियो।
कास्कीबाट निर्वाचित माओवादीका सांसद दीपक कोइरालाले खल्तीबाट मन्त्री दिनु जिम्मेवार नेताको गल्ती भएको बताए।
‘को मन्त्री भयो, हामीलाई जानकारी पनि छैन। हामीसँग सल्लाह नै नगरी मन्त्री पठाइयो। यो निर्णय मान्य छैन’, कोइरालाले भने।
विरोध स्वरुप माओवादीका कोइरालासहित ६ सांसद मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा अनुपस्थित थिए।
माओवादी केन्द्रका प्रदेश ४ का संयोजक हरि अधिकारी र इञ्चार्ज देव गुरुङको उपस्थितिमा मन्त्री चयन गरिएको थियो। चुमानलाई गुरूङले र थापा मगरलाई अधिकारीले सिफारिस गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।