काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गरेकी छिन्।
संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको आजको दिन महत्वपूर्ण ऐतिहासिक दिन भएको उल्लेख गरेकी छन्।
'संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रादेशिक र संघीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेका छौँ। यी सबै निर्वाचनले राज्य संचालनका संवैधानिक र कानुनी व्यवस्था एवम् लोकतन्त्रका संरचनालाई थप संस्थागत र सुदृढ गर्नेछन् भन्ने मैले विश्वास लिएको छु,' राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ।
आजको दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा मिल्ने र यसप्रति सबै नेपाली कृतसंकल्पित हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानले धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको उल्लेख गरेकी छन्।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णिम दिन संविधान दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
स्थानीय तहमा जस्तै प्रदेश र संघको निर्वाचनमा उत्साहका साथ सहभागी भई आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्न आग्रह गर्दै उनले संविधानको पूर्ण कार्यान्वयनसँगै राजनीतिक संक्रमण पूर्ण अन्त्य भई देश आर्थिक समृद्धिको यात्रामा द्रुतततर गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।