महोत्तरी- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा वामपन्थीहरुबीचको एकता भाँड्न विभिन्न तत्त्वले षड्यन्त्र गरिरहेको बताएका छन्।
महोत्तरीको हात्तीनेटमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकताको प्रक्रिया सुरु भएदेखि नै षड्यन्त्र भइरहेको बताए।
‘नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन। त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिस्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अगाडि बढाएँ’, दाहालले भने, ‘जनताको चाहना पनि यही भएकाले अहिले झन्डै दुई तिहाई बहुमत वामपन्थीहरुको आएको छ। तर वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून् भनेर देशी-विदेशी प्रतिक्रियावादी लागिपरेका छन्।’
प्रदेश र संघको निर्वाचनमा वाम गठबन्धनको झन्डै दुई तिहाई बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँड्ने षडयन्त्र भएको दाहालको भनाइ थियो।
उनले भने, ‘निर्वाचनमा दुई तिहाई आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ।’
अध्यक्ष दाहालले इतिहासको निर्माण गर्न एक-दुई जना नेताको मात्रै भर पर्न नसकिने बताउँदै सिङ्गो पार्टीका नेता र कार्यकर्ता चनाखो हुनुपर्ने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।