लहान– सप्तरीमा दाजुद्वारा बहिनीको बलात्कारपछि हत्या गरेको घटना सेलाउन नपाउँदै सिरहामा बालिका बलात्कारको अर्को घटना सार्वजनिक भएको छ।
सिरहाको गोलबजार नगरपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिर्चैया नगरपालिका–९ ढोडनाका २५ वर्षीय दीपककुमार मण्डललाई पक्राउ गरेको छ।
शुक्रबार राति घर नजिकैको बारीमा शौच गर्न गएका बेला मण्डल र १९ वर्षीय श्यामकुमार महराले बालिकाको मुख थुनेर वलात्कार गरेका थिए। घटनापछि बालिकाले चिच्याएर गुहार मागेपछि जम्मा भएका स्थानीयले मण्डललाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए।
महरा भने फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेश सुवेदीले जानकारी दिए। मण्डल विरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको सुवेदीले बताए।
शुक्रबार मात्रै सप्तरी प्रहरीले दुई बालिका बलात्कार भएको घटना सार्वजनिक गरेको थियो। जसमध्ये एउटा घटनामा बलात्कारपछि बालिकाको हत्या भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।