बुटवल- ५ नम्बर प्रदेशको उपसभामुखमा एमाले सांसद कृष्णी चौधरी थारुले मनोनयन दर्ता गराएकी छन्।
प्रदेशसभा सचिवालयमा आज बिहान साढे १० बजे वाम गठबन्धनकी संयुक्त उम्मेदवार चौधरीले उम्मेदवारी दर्ता गराएकी हुन्। एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको प्रस्ताव र माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको समर्थनमा उम्मेदवारी दर्ता भएको हो।
आज बिहान बसेको एमाले प्रदेश ५ संसदीय दलको बैठकले उनलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। पूर्वकमलरी थारुको विरुद्धमा अरु दलले उम्मेदवारी नदिने भएपछि उनी निर्विरोध निर्वाचित हुनेछिन्। गठबन्धनको भागबण्डामा सभामुख माओवादीले पाएपछि एमालेले उपसभामुख पाएको थियो।
संसद सचिवालयले आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि उपसभामुखको मनोनयनको समय तोकेको छ।
मनोनयन दर्तापछि आइतबार दिउँसो १ बजे बस्ने बैठकले उपसभामुखको निर्वाचन गर्नेछ। उपसभामुखमा अरु दलबाट उम्मेदवारी नपर्ने भएकाले प्रस्तावकले निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र समर्थकले समर्थन गरेपछि सभामुखले निर्वाचित भएको घोषणा गर्नेछन्।
उपसभामुख निर्वाचित भएपछि सभामुखले पद तथा गोपनीयताको सपथ ग्रहण गराउने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।