काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँगको पार्टी एकतालाई केही दिनभित्रै टुंग्याउने गरी पहल भइरहेको बताएका छन्।
पार्टी सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै दाहालले भने, “पार्टी एकताका पक्षमा सघनरुपमा छलफल भइरहेको छ । विवाद भएर वा कुरा नमिलेर होइन, सबै विषयलाई एकमुष्ठरुपमा मिलाउन लागिएकाले केही समय लागेको जस्तो देखिएको हो।”
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलगायत एमालेका शीर्ष नेतासँग राजनीतिक वैचारिक तथा अन्य सांगठनिक विषय मिलाउन र सबैलाई मान्य हुने गरी एकताको भावना आमरुपमा जाने गरी तयारी गरिएकाले समय लागेको जस्तो देखिएको उनको भनाइ थियो।
बिहीबार सरकार गठन हुँदा माओवादी केन्द्रको तर्फबाट मन्त्रिमण्डलमा सहभागी नहुँदा विवाद भएर हो कि भन्ने आशंका देखिएको र देखाउन खोजिएको भन्दै उनले त्यस्तो असहमति र विवाद नरहेको स्पष्ट पारेका छन्।
पार्टी एकताको लक्ष्यसहित संयुक्त गठबन्धन बनाएर निर्वाचनमा साझा घोषणापत्रका साथ जनतामा गएको र जनताले त्यसलाई अनुमोदन गरेको दोहो¥याउँदै उनले भने, “पार्टी एकतालाई जनताले अनुमोदन गरेका छन् । वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत छ । यसलाई समृद्ध राष्ट्र निर्माणमा लगाउनु पर्दछ।”
आर्थिक समृद्धि र समाजवादप्राप्तिको लक्ष्य नै आफूहरुको साझा लक्ष्य र कार्यभार रहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले राजनीतिक स्थिरताप्राप्त भएकाले आर्थिक विकास र समृद्धिको प्रश्न नै वर्तमानको प्रमुख दायित्व रहेको बताए।
एक फरक प्रसंगमा नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए। हरेक राजनीतिक दलको केन्द्रीय नेतृत्वमा शिक्षक पृष्ठभूमिबाट आएकाको संख्या बढिरहेको भन्दै उनले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि नवनिर्वाचित सरकारले काम गर्ने उल्लेख गरे।
प्राविधिक शिक्षामा जोड दिँदै उहाँले सैद्धान्तिक शिक्षाले मानव समुदायको हित नगर्ने भएकाले रोगजारमूलक शिक्षामा वर्तमान सरकारले जोड दिने र आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास व्यक्त गरे।
मुलुकको समग्र विकासका लागि शैक्षिक क्षेत्रमा आमूल परिवर्तनको जरुरी रहेको स्पष्ट पार्दै उनले शैक्षिक क्षेत्रमा देखिएको व्यापारीकरण र निजीकरणलाई क्रमशः अन्त्य गर्दै सार्वजनिक शिक्षालाई सवल बनाउनुपर्ने धारणा राखे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।