रामपुर- मिनी फेवातालको नामले प्रख्यात पाल्पा रामपुरको तालपोखरामा कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन गरिएको छ। फेवातालको स्वरुपमा निर्मित यस कृत्रिम तालपोखरामा अहिले डुंगा सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेको छ।
यसअघि स्थानीय कुलो तथा नहरबाट पानी ल्याएर यहाँ दुईवटा डुंगा संचालन गरिएको थियो। डुंगा सयर गर्ने र तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिरमा पूजाआजा गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थितिले नियमित डुंगा सञ्चालन गर्न कालीगण्डकीको पानी लिफ्टिङ गरिएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताए।
२ लाख १७ हजार ५ सय ४० रुपैयाँको लागतमा तालपोखरा नजिकै रहेको कालीगण्डकीको पानी यस तालमा ल्याउन सफल भएको उनले जानकारी दिए। ‘हामीले सोचेकोभन्दा दोब्बर पर्यटकको आकर्षण बढेको पाइएपछि कुलो, नहरबाट ल्याइएको पानी कम भएको थियो। सोहि कारण नियमित डुंगा सञ्चालन गर्न समस्या पर्ने देखेपछि कालीगण्डकीबाट लिफ्टिङ गरेर पानी ल्याएका हौँ”, उनले भने।
अब तालमा डुंगा सञ्चालनका लागि पानीको समस्या नपर्ने उनको भनाइ छ।
बर्खायामको पानी जम्मा हुने पोखरीलाई विकसित गरी अहिले फेवातालको झल्कोस्वरुप तालका रुपमा परिणत गरिएको संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताए। देवकोटाका अनुसार हाल दैनिक दुई सयभन्दा बढीको हाराहारीमा आन्तरिक पर्यटकहरु डुंगा सयर गर्न आउने गरेका छन्।
समितिले तालपोखरामा डुंगा सयरका लागि २५ रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था गरेको छ। तालपोखरा क्षेत्रलाई केही स्थानीय युवाले पर्यटकीय क्षेत्रका रुपमा परिकल्पना गरी विकास गर्दै जाँदा अहिले यो क्षेत्र पाल्पा रामपुरकै पर्यटकीय गन्तव्य बन्न पुगेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।