हरियाणा- भारत हरियाणाको पिन्जोरस्थित एक मनोरन्जन केन्द्रमा खेलौना कारमा कपाल अल्झिएर भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। २८ वर्षीया पुनित कौर आफ्ना श्रीमान्सँगै खेलौना कारमा सवार भइरेहको समयमा कपाल अल्झिँदा दुर्घटनामा परेकी थिइन्।
दर्घाटनामा गम्भीर घाइते भएकी कोरलाई अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषित गरेका थिए। मृतक कौर आफ्ना श्रीमान, एक छोरा तथा आफन्तसँगै बिदा मनाउन सो मनोरंजन केन्द्रमा गएकी थिइन्।
हाल मनोरन्जन केन्द्रमा रहेको सो खेललाई संचालनमा निषेध गर्दै घटनाको थप अनुसन्धान भइरहेको पन्जाब प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आफ्ना श्रीमानसँग कारमा सवार भइरहेको समयमा अचानक मृतक कौरको कपाल कारको पांग्रामा बेरिएको थियो। कारलाई तुरुन्तै रोक्न नसक्दा उनको शिरमा गम्भीर चोट पुगेका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक आनुमान गरेको छ।
‘मृत्युको खास कारण के हो भन्ने हालसम्म स्पष्ट भएको छैन। पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खास कारण भन्न सकिने छ।’, पन्जाब पुलिसका एक अधिकारीले भने।
हेलमेटको प्रयोगदेखि सबै सुरक्षाका उपायहरु अवलम्बन गरिए पनि दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा आफुहरु पनि अन्योलमा परेको मनोरन्जन केन्द्रका सञ्चालकले बताएको बिबिसीले लेखेको छ।
‘हरेक यात्रुका लागि कपालमा बान्ने रबर ब्यान्ड तथा हेलमेटको अनिवार्य व्यवस्था गरेका हुन्छौँ। त्यसो हुँदाहुँदै पनि अकल्पनीय दुर्घटना भएकोमा हामी पनि दुःखी छौँ।’, केन्द्रका सञ्चालक सुशील कुमारले भने।
मृतकका श्रीमानको भनाइ उदृत गर्दै एक स्थानीय अखबारले लेखेको छ,‘म र मेरी श्रीमती कारमा सवार हुँदा रमाइलो मानिरहेका थियौँ। अचानक उनको कपाल फुस्कियो र पांग्रामा अल्झिएपछि उनी चिच्याइन्। तर हामीलाई दिइएको रबर ब्यान्ड र हेलमेटको क्वालिटीको बारेमा भने मलाई अवगत थिएन।’
यस्ता दुर्घटनाहरु भारतमा बिरलै हुने गरेको पाइन्छ तर यस्ता घटनाले मनोरञ्जन केन्द्र संचालक तथा खेलप्रेमी धेरैलाई सुरक्षा अपनाउन सजग गराउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।