दसैं अब समुदायको भएन, बजारको भयो : आहुति [भिडियो अन्तर्वार्ता]

आहुति | २०७६ असोज १८ शनिबार | Saturday, October 05, 2019 १०:०६:०० मा प्रकाशित

बहुसंख्यक हिन्दूहरूले मनाउने दसैंका विषयमा मानिसका मनमा अनेक चित्र छन्। अनेक सम्झना छन्। अनुभव छन्। धारणा छन्। दसैं मनाउने अनेक क्रियाकलाप र यससँग जोडिएका भाष्यले गर्दा दसैंको समय उत्सवमय बन्ने गर्छ।

दसैंको जति सांस्कृतिक अर्थ र व्याख्या छ, त्यति नै यसका नाममा राज्यले गरेको राजनीतिदेखि खास धर्मको प्रचारका विषयमा उठ्ने गरेको छ। त्यसो त, दसैंको परम्परागत महत्त्व खुइलिँदै गएको र बजारको बाहुपासमा पुगिसकेकाले यो बढी उपभोक्तावादी र खर्चमय भयो भनेर चिन्ता व्यक्त पनि हुने गरेको छ।

यी र यस्तै विषयमा आधारित भएर नेपाल लाइभका लागि किशोर दहालले आहुतिसँग कुरा गरेका छन्:

दसैं शब्द सुन्नासाथ तपाईंको दिमागमा बन्ने चित्र कस्तो हुन्छ? 

म दसैं मान्ने जाती तथा समुदायभित्रै हुर्किएको हुँ। सामान्यतयाः चाडपर्व भनेपछि जस्तो चित्र दिमागमा आउँछ, दसैं भनेपछि पनि मेरो दिमागमा त्यस्तै चित्र आउँथ्यो। अहिले पनि आउँछ। 

बाल्यकालका दसैं रमाइलो थियो भनेर धेरैले भनेको सुनिन्छ। खासमा दसैंमा त्यस्तो के चिज हुन्छ र बच्चा बेलाको दसैं रमाइलो थियो भन्ने गरिन्छ? 

परिवारमा केही नयाँ कुरा हुन लाग्यो भने ठूला मान्छेभन्दा बच्चाहरु बढी मनोरञ्जित हुन्छन्। दिमाग पनि अलि खुसी हुन्छ। त्यसैले अरु मान्छेलाई बच्चा बेलामा रमाइलो हुन्थ्यो भन्ने लाग्ने मात्रै हो।

दसैं गाउँका निम्ति, तिहार सहरका निम्ति भन्ने गरिएको पाइन्छ। दसैं र गाउँको त्यस्तो के सम्बन्ध छ? 

दसैंको दुई तीन वटा कुरा छन्। पहिलो, त्यसका धार्मिक क्रियाकर्महरु छन्। जमरा राख्ने, ज्यावलहरु पूजा गर्ने, दुर्गा पूजा गर्ने, काटमार गर्ने, भोग दिने, कालरात्रि पूजा गर्ने तथा पाहुनाहरू बोलाउने कुराहरु छन्। पाहुनाहरु पहाडमा सधैंभरि जम्मा हुने कुरा हुँदैन। गाह्रो हुन्छ। अलि पहिलेको कृषिमा आधारित जीवन हुँदासम्म नातागोताहरू धेरै भेटिरहन सम्भव हुँदैन। त्यसैले हिन्दूहरूमा यसरी पाहुनाहरु जम्मा हुने कुराले उत्सवमय बनाउँथ्यो।

यति सबै हुँदा दसैंले थप केही अर्थ र महत्त्व पनि राख्छ? 

संसारका सबै जातीमा हुने चाडपर्वहरूले त्यो जातिभित्रको धार्मिक जीवन र त्यहाँको विश्वासहरूलाई अगाडि बढाउन तथा त्यो जातिभित्रमा मानिसहरूको भावना साटासाट गर्न जमघट गराउँछ। यसले त्यो जातिको जीवनलाई एउटा दिशामा लगिराख्नका लागि काम गरिरहेको हुन्छ। दसैंले पनि दसैं मनाउने जातिको निम्ति त्यो काम गरेको छ।

दसैंको वर्गीय अर्थचाहिँ कस्तो छ? 

कुनै पनि चाडपर्वको कुरा आउने बित्तिकै त्यहाँ खानपिनको कुरा आउँछ। खर्चको कुरा आउँछ। दसैंलाई अनावश्यक रुपमा ज्यादा खर्च गर्ने अवसरको रुपमा माथिल्लो वर्गले प्रयोग गर्छन्। सम्पत्ति प्रदर्शन गर्ने अवसरको रुपमा प्रयोग गर्छन्। त्यसको मारमा तल्लो वर्गका मानिसहरु पर्छन्। उनीहरुले माथिल्लो वर्गका मानिसहरुले जसरी खर्च गर्न सक्दैनन्। त्यसपछि उनीहरु भावनात्मक, बौद्धिक र व्यवहारगत रुपमा उत्पीडित हुन पुग्छन्।

त्यसैले वर्गीय अर्थमा भन्ने हो भने कुनै पनि चाडपर्व, त्यसमा पनि दसैंले माथिल्लो वर्गका मानिसलाई फर्माइसी गर्ने उत्सवको रुपमा तर तल्लो वर्गका मानिसलाई ऋण काढ्नुपर्ने दुर्दशाको हालतमा पुर्‍याउँछ।

धेरैले वर्षमा एकदिन भने पनि मीठो मसिनो खाने, राम्रो र नयाँ लगाउने, पारिवारिक भेटघाट हुने, मान्यजनसँग आशिर्वाद लिने अर्थमा दसैंलाई व्याख्या गर्छन्। यो कति यथार्थमा आधारित र सान्दर्भिक धारणा हो?

जुनबेलामा दसैंजस्ता चाड सुरु भयो, त्यसबेलाको वास्तविक मर्म यसले गुमाइसकेको छ। यो अर्कै चिज भइसकेको छ। यो चाड कसरी सुरु भयो? समाजशास्त्रीहरु के भन्छन्? त्यतातिर ध्यान दिने हो भने जुनबेला दुनियाँमा भव्यताका साथ कृषियुग थियो, कृषि नै मुख्य कर्म थियो। त्यतिबेला संसारका सबै जातिमा बाली लगाएपछि र भित्र्याएपछि ठूलो उत्सव मनाउने चलन थियो। किनकि, त्यो नै जीवनको मुख्य आवश्यकता थियो।

दसैं पनि गंगा मैदानबाट सुरु भएको पाइन्छ। त्यो ठाउँ गहुँ र धान लगायतका खेतीका लागि राम्रो थियो। त्यहाँ बाली भित्र्याइसकेपछि उत्सव मनाउने परम्परा थियो। त्यो परम्परा नै दसैंको मुख्य चिज हो। अहिलेसम्म पनि त्यसको अवशेष बाँकी छ। कृषिमा प्रयोग हुने सबै ज्यावलहरुलाई पूजा गर्ने तथा विभिन्न अन्नहरु ल्याएर जमरा राख्ने चलन छ। त्यतिबेला बाली भित्र्याउन औजारहरु आधुनिक भइनसकेको हुनाले सिंगो समुदाय नै बाली भित्र्याउन लाग्नुपर्ने हुन्थ्यो।

सिन्धुली लगायतका ठाउँको अध्ययन गर्नुभयो भने त्यहाँका माझी तथा दनुवारहरुले ०२०/०२१ सालसम्म पनि सिंगै गाउँले मिलेर सबैको बाली भित्र्याउँथे। सबैको भित्र्याइसक्दा एकदुई महिना लाग्थ्यो। सबै सहभागी भएकाले खानपिन पनि गर्नुपर्‍यो। बाली भित्र्याउने काम उत्सवमय हुन्थ्यो। दसैं लामो हुनुको कारण बाली भित्र्याउने प्रक्रियासँग सम्बन्धित छ।

गंगा मैदानबाट सुरु भएको दसैंमा पछि राजनीति थपियो। धर्म थपियो। हिन्दू धर्मले त्यसलाई अँठ्यायो। हिन्दू मतले बाली भित्र्याउने पर्वलाई पनि धार्मिक रुप दियो। अब रावण वधसँग लगेर जोडियो। देवीले महिसासुरलाई वध गरेको कुरासँग जोडियो। जमरालाई पनि राक्षसको जटा उखलेको कथासँग जोडियो। यसरी धर्मकरण गरिएपछि स्वभाविक रुपमा जनतालाई अर्को दिशातिर लैजाने भयो।

ठूलासँग आशिस लिने कुरा पनि छ। ठूला केका आधारमा मानिन्छ त? कथित ठूला जातका मानिसलाई ठूला मानिन्छ, पुरुषलाई ठूलो मानिन्छ, पतिलाई ठूलो मानिन्छ, जन्मको आधारमा ठूलो मानिन्छ। यसरी धर्मले दसैंलाई पूरै सामन्ती मान्यतामा ल्यायो। खास धर्मले यसलाई डिजाइन गर्‍यो। अनि त्यो धर्मलाई राज्यले बोक्यो। अनि दसैंलाई आफ्नो राज्यको हुकुम फैलाउने र अरुलाई हिन्दूकरण गर्ने हतियारको रुपमा प्रयोग गरियो।

अहिले दसैं विकृत भइसक्यो। विज्ञान र प्रविधिभन्दा अन्यत्रबाट प्रगति नै असम्भव रहेको अहिलेको पुस्तालाई धर्मको कुरा सिकाइरहेको छ। राम यस्ता थिए, देवी यस्ती थिइन्, तिनले राक्षस मारिन् भन्ने सिकाइरहेको छ। त्यसलाई पर्वको रुपमा फेरि आदर्शवादतिर, अन्धविश्वासतिर युवाहरुलाई लैजानका निम्ति प्रयत्न गर्ने ठाउँमा पुर्‍याइदियो।

अर्कोतिर, उँचनिच भन्ने तहगत व्यवस्थालाई मान्न बाध्य बनाइरहेको छ, त्यसले। श्रीमतीले टीका लगाइदिन किन नहुने? छोरा विद्वान भइसक्यो, उसले बाउकै हातबाट टीका लगाइराख्नुपर्छ भन्ने के छ? जसले लगाइदिए पनि हुने नि! पहिले राजा भनेको सबैभन्दा ठूलो भन्ने भयो, उसको हातबाट टीका लागाउनुपर्ने। गाउँको मुखिया सबैभन्दा ठूलो भन्ने थियो, उसकोमा माछा र खसीको पेरुङ्गो बोकेर जानुपर्ने। अहिले त्यही सामन्तवाद सर्दै आएर राष्ट्रपतिको हातबाट टीका लगाउनुपर्ने भयो। राष्ट्रपति र प्रधानमन्त्री जस्ता पद भनेको त जिम्मेवारी पो फरक भनेको हो त। कोहीभन्दा माथिको मान्छे त होइन नि। टीका लगाउने विषय कहाँबाट आउँछ त्यहाँ। यसले मानिसहरू स्वभाविक रुपमा कोही ठूला हुन्छन्, मान्नैपर्ने खालका हुन्छन्, कोही भने तलै बस्नुपर्ने खालका हुन्छन् भन्ने प्रशिक्षण गरिरहेको छ। सामन्तकालकै व्यवस्थालाई निरन्तरता दिइरहेको छ। त्यो गलत हो।

सबैभन्दा डरलाग्दो कुराचाहिँ दसैं अब समुदायको भएन, बजारको भयो।

बजारको विषयमा एकछिनमा कुरा गरौंला। दसैंलाई अहिले नेपालीको महान पर्व भनिन्छ। त्यसको अन्तर्यमा अहिले तपाईंले भनेका कुराहरू पनि जोडिन्छ? 
यो सत्ताको राजनीति हो। नेपालमा दसैंमात्र पर्व छ र? छैन नि। दसैं जसको पर्व हो, उसको निम्ति त्यो ठूलो छ। त्यो ठीकै छ। त्यो राम्रो छ। उसलाई गाली गर्नुपर्ने केही छैन। कसैले मनाउनु उसको अधिकारको कुरा हो। तर त्यो पर्वमात्रै महान त हुँदैन नि। जस्तो कि, माझीहरूले पानी पूजा गर्छन्, राजवंशी वा कोचहरूले धर्तीलाई पूजा गर्छन्। यसरी सबैको आफ्नोआफ्नो इतिहास छ, मन रमाउने पर्व छन्। ती सबै उनीहरुका निम्ति महान छन्। ठूला छन्।

एउटा पर्वलाई महान, अझ सम्पूर्ण नेपालीको महान भन्दिनु हुँदैन। यसरी मानिसको चित्त दुखाउन मिल्दैन। इदको शुभकामना दियो, मुस्लिमहरूलाई दिने। दसैंको शुभकामना दिँदाचाहिँ सम्पूर्ण नेपालीको भनिदिने। त्यसो गर्नु हुँदैन। जसको हो, त्यसलाई भन्नुपर्‍यो।

त्यस्तै, दसैंचाहिँ गैरहिन्दूहरूलाई हिन्दूकरण गर्ने हतियार पनि भयो। दसैं नमानेका कारण इतिहासमा मानिसहरूले झुन्डिएर मर्नुपर्‍यो। जंगबहादुरको कालमा धनकुटाका आठपरियाहरू, दुई जनालाई त दसैं मान्दिनँ भन्दाखेरी झुन्ड्याएरै मारिएको हो। कतिलाई इस्तिहार नै जारी गरिएको छ। दसैंको कर नै तिराइएको छ। पृथ्वीनारायणको राज्य विस्तारपछि दसैं हिन्दूकरण गर्ने हतियार भएकै हो। यो सत्य हो नि।

सम्पूर्ण नेपाली भनिन्छ। तर कर्णाली पारीका हिन्दूहरुकै पनि दसैं मुख्य चाड होइन। उनीहरूको बिसु पर्व मुख्य हो। जुन बैशाख १ गते हुन्छ। त्यो बेलामा उनीहरू नातेदार बोलाउँछन्। किनबेच गर्छन्। लुगा किन्छन्। यति कुरा त बुझिदिनुपर्‍यो।

नेपालकै पनि सबै हिन्दूहरूको दसैं मुख्य पर्व होइन। राज्यले यति पनि नभन्ने? यति त बुझाइदिनुपर्‍यो नि। जबर्जस्ती सबैको हो भन्नैपर्छ, मान्नैपर्छ भन्न मिल्दैन। हिजो राणाकाल र शाहकालमा त्यसो गरियो। त्यसबाट आत्मालोचना गर्नुपर्छ। दसैं नमानेको हुनाले मान्छेलाई मार्ने, मारकाट गरे कि गरेनन् भनेर सेना पठाएर बुझ्ने र रगतको छाप ढोका वरिपरि राखेर वर्षभरि प्रमाण राख्नुपर्ने काम हिजो बेठीक भयो।

अब त धर्म निरपेक्षताको युगमा गयौं। गणतन्त्रको युगमा गयौं। अहिले पनि सम्पूर्णको चाड हो भनेर अरुलाई भावनात्मक रुपमा उत्पीडित गर्न हुँदैन।

हिन्दू धर्मसँगै जोडिएका अरु पनि चाड छन्। तर, दसैंलाई नै किन महान भन्दै प्रचारित गरियो? 

यसमा लामो समयको इतिहास छ। अर्कोतिर भारतमा पनि दशहरा मनाइन्छ। तर काटमारसँग यसको सम्बन्ध छैन। दुर्गा पूजासँग मात्रै सम्बन्धित छ। नेपालकै तराईमा मनाइने दशहरासँग पनि काटमारको सम्बन्ध छैन। भारतको दशहरा सत्ता विस्तारको औजार भएन। त्यो दुर्गा पूजासँग सम्बन्धित पर्व मात्रै भयो।

नेपालको गोरखामा स्थापित शाह खलकको जुन राज्य थियो, त्यसले आफ्नो राज्य विस्तारको विजय अभियानसँग लगेर दसैंलाई गाँसिदियो। त्यसैले दसैं नमान्ने भनेको हुकुम नमान्ने जस्तो भयो। केन्द्रीय शासन नमान्ने भनेजस्तो भयो। त्यसकारण त दसैंमा टीका लगाउने चलन आयो। दशहरामा त टीका लगाइँदैन। टीका हिन्दूहरूले लगाउँछन्, त्यो अर्को कुरा भयो। तर, दसैंमा आशिष दिने टीका त भारत वा नेपालको तराईमा लगाइँदैन। तर पहाडको दसैंमा किन लगाइन्छ तरु किनकि, गोरखा राज्यको विस्तार अभियानसँग लगेर दसैंलाई जोडियो। त्यसपछि विजयको टीका लगाउनेतिर गयो, यो। हाम्रो राज्य विस्तार भएको, लडाइँ जितेको भन्नेतिर गयो। र टीका परम्परा त्यसरी सुरु भयो। रातो टीका त्यहाँबाट आयो।

जुनसुकै वर्गमा होस्, एउटा कुरामा समानता देखिन्छ। त्यो के भने, पुरुषहरू रमाइलो गर्ने तर महिलाहरु काममा जोतिने। तास खेलिरहेका पुरुषहरूलाई अनेकथरि आइटम पकाएर खुवाउनेदेखि भान्छाभित्रका झन्झटिलो काममा पनि महिला नै देखिन्छन्। यस अर्थमा महिलाका निम्ति दसैं उत्साह हुन्छ कि बोझ? दसैं र महिलाबीचको सम्बन्धलाई कसरी परिभाषित गर्न सकिन्छ? 
त्यो त आम कुरा भयो। दसैंमा मात्रै यस्तो भएको होइन। सबै पर्वमा महिलाहरू अतिरिक्त श्रमिक बन्नुपर्ने भयो। श्रमिक र उत्पीडित त छँदैथिए, दसैंमा झन् बढी श्रम गर्नुपर्ने, धेरै खट्नुपर्ने, सुत्न नपाउने, पुरुषले नखाइकन खान नपाउने, भोको पनि सबैभन्दा बढी बस्नुपर्ने चाड बन्छ। 

दसैं झन्डै एक हप्तासम्मको विभिन्न क्रियाकलापको समष्टिगत स्वरुप हो। मासु खानेदेखि टीका लगाउनेसम्मका काम यस अन्तर्गत गरिन्छ। पूजाआजा र त्यसका व्याख्या विधि पनि छँदैछन्। त्यसका सामाजिक अर्थहरू के छन्? 

दसैं भनेको हिन्दूहरुको एउटा यस्तो चाड हो, जहाँ नबोलाइकन पनि पाहुना आउन मिल्छ। त्यसैले मानिसहरूबीचको भेटघाटको अर्थमा यसको सामाजिक महत्त्व छ। तर फजुल खर्च लगायतलेचाहिँ समाजलाई घाटा हुनेतिर वा जनजीवनलाई अप्ठ्यारो पार्नेतिर बढी देखिन्छ। मुख्यचाहिँ मानिहरू बीचको भावना साटासाटको सामाजिक महत्त्व हुन्छ।

दसैंको अन्तर्यमा हिन्दू धर्म जोडिएको छ। एकथरिले यो पर्व सबै धर्मबीच साझा र स्वीकार्य बन्दै गएको भन्दै प्रशंसा गरिरहेका छन्। अर्कोथरिले धर्म निरपेक्ष देशमा एउटा धर्मको प्रतिनिधित्व गर्ने दसैंलाई राज्यले नै प्राथमिकता दिने गरेको भनेर असन्तुष्टि व्यक्त गरिरहेका छन्। तपाईं के भन्नुहुन्छ?

दुई सय वर्षभन्दा बढी समयदेखि दसैं नमाउने समुदायमाथि जबर्जस्ती लाद्दै गएको हुनाले स्वभाविक रुपमा गैरहिन्दूमध्येका कैयौंले पनि दसैं मनाउने स्थिति बन्यो। नमनाउनेलाई कुट्ने, जेल हाल्ने भएपछि शासितले त मनाउने भयो नि। त्यसैले कैयौं गैरहिन्दूहरुको चाडको आलम्ब जस्तो बन्न पुग्यो दसैं।

तर यो कसरी हुन सम्भव छ त? मानौं कि, कोही दसैं नमनाउने इस्लाम धर्मालम्बी छ। तर उसलाई पनि दस दिन बिदा हुन्छ। पेश्कि दिइन्छ। जबकि, रमजानको बेलामा त पेश्कि दिइदैन। बिदा पनि एक दिन मात्रै दिइन्छ। दसैंको लामो बिदाभर उसले पनि आफ्ना मान्छेहरु भेट्ला। वा, डुल्न मन लाग्ला। रमाइलो गर्न मन लाग्ला। यो सबै दसैंको अवसरमा गरिएका काम हुन्। त्यसैले कुनै न कुनै रुपमा दसैं मनाउन राज्यको कारणले बाध्य भयो।

सबै अफिस, बैंक, कारखाना बन्द भएपछि तामाङले जतिसुकै लोह्सार मनाए पनि दसैंको बेलामा त गाउँ नै पुग्छ। राज्यले नै खास धर्मको खास पर्वलाई अतिरिक्त सुविधा दिइसकेपछि त त्यो पर्व नमनाउने परम्पराका मान्छेहरू पीडित त भए नि। त्यसैले चानचुन दुई सय वर्षमा उनीहरू पनि दसैं मनाउने ठाउँमा पुगेका हुन्।

तर, अहिले आएर मानिसमा धर्म निरपेक्षताको जागरण भयो। आफ्नो धर्म संस्कृति र जरोकिलो खोज्दै हिँड्ने जागरण भयो। आफ्नो परम्परा मनाउँदा राज्यले प्रत्यक्ष दमन नगर्ने स्थिति बन्यो। फेरि उनीहरु आफ्नो पुरानो चिजमा फर्किन चाहन्छन् भने हामीले त्यसलाई सघाउनुपर्छ। उनीहरू आफ्नो परम्परा, संस्कृतिमा फर्किन चाहन्छन् भने त्यो राम्रो कुरा हो। कसैले हामी दसैं पनि मनाउँछौं भन्छन् भने त्यसलाई पनि नराम्रो भन्नुपर्ने केही छैन। 

यहाँ ख्याल गर्नुपर्ने दुईटा कुरा छ। पहिलो, जसले हाम्रो पर्व दसैं होइन भन्छ, उसलाई सम्मानपूर्वक त्यो भन्ने र त्यसअनुसारका गतिविधि गर्ने अधिकार दिनुपर्छ। त्यसलाई सम्मान गरिनुपर्छ। त्यसैगरी जसले दसैं मनाउँदिनँ भन्छ, उसले पनि दसैं मनाउने समुदायको भावनामा चोट पुग्नेगरी बोल्नु र गतिविधि गर्नुचाहिँ जरुरी छैन। किनकि, नेपालमा दसैं मार्फत दमन गरेको त जनताले होइन, राज्यले हो। जंगबहादुर र रणबहादुर त जनता होइन नि। त्यसकारण, राज्यले दमन गर्‍यो, सबैले भन्न पायो। तर अहिले दसैं मनाउने समुदायमाथि रिस फेरेर हुने त केही पनि होइन। यो विषयमा हामी सबै सचेत हुनुपर्छ।

तर जसले दसैंलाई मेरो पर्व होइन भन्छ उनीहरुलाई सबैको भइसक्यो, मान्नैपर्छ भन्नुचाहिँ भएन। त्यसो भन्नु गलत हुन्छ।

दसैंलाई सांस्कृतिक एकताको मियो भनिन्छ। राष्ट्रियतासँग पनि जोड्ने गरिएको पाइन्छ। के दसैंले यो सबै काम गर्छ?

चाडपर्वहरूले मानिसहरूको बीचमा घुलमिल गर्ने, मेलमिलाप गराउने, भेटघाट गराउने हुने आन्तरिक राष्ट्रियताको कुनै न कुनै कुनाको केही अंश त त्यो हुन्छ। कुनै पनि चाडले त्यो भूमिका खेल्छ। तर राष्ट्रियताको मूल पक्षसँग त्यसको सम्बन्ध त छैन।

सांस्कृतिक एकताको मियोचाहिँ हुन्छ? 

कुनै पनि चाडपर्वले आफ्नो समुदायभित्रको एकतामा केही न केही भूमिका त खेलिरहेको हुन्छ। मान्छेहरू जमघट हुन्छन्। एकै लयमा मान्छेहरू बग्न थाल्छन्। काम गर्न थाल्छन्। त्यसैले कुनै पनि पर्वले त्यो समुदायभित्रको एकतामा, प्रवर्द्धनमा भूमिका खेल्छ। रुढिवादतिर लैजान पनि, राम्रो बाटोतिर लैजान पनि त्यसले काम गरिरहेको हुन्छ।

दसैंका अवसरमा बजारमा अत्यधिक चहलपहल हुन्छन्। नयाँ कपडा किन्नेदेखि नयाँ नोटसम्म साट्ने गरेको पाइन्छ। अहिले त झन्, कर्पोरेट हाउसहरूले टिभीदेखि गाडीसम्मको विभिन्न अफरहरू दिएर उपभोक्ता फकाइरहेको पाइन्छ। अहिलेको दसैंमा परम्परागत सांस्कृतिक गुण कति बाँकी छ, यो कति बजारको बाहुपासमा पुगिसकेको छ? दसैंको परम्परागत चरित्र र बजारीकरण सँगसँगै जान सक्छ?

मैले एकदुई सालअघि टुंडिखेलमा गएर लोसार पनि हेरें। अरु चाडपर्व पनि हेरेको छु। त्यस आधारमा भन्दा, अबको चाडपर्व मुलतः जनसमुदायको चाडपर्व भन्दा बजारको चाडपर्व भयो। बजारले त्यसलाई निर्देशित गर्न थाल्यो।

जस्तो कि, दसैं आएको बारे ५ वर्षको बच्चालाई थाहै छैन। तर टेलिभिजनले दसैंमा कोकाकोलाको यस्तो प्याक भनिदिन्छ। बजार जनताको भावनामा खेल्ने अवसर खोजेर बसिरहेको छ। चाडबाडमा सबैभन्दा ठूलो अवसर हुन्छ भन्ने उसलाई थाहा छ। त्यसैले दसैं उपभोक्तावादी र खर्चमय बनिरहेको छ। हावाहुरी र आँधीबेहरीजस्तो खर्चालु दसैं बनाउनको निम्ति उपभोक्तावादी विचारको प्रचार बजारले अहिले गरिरहेको छ। बजारले मान्छेको मनस्थिति कब्जा नै गरिरहेको छ।

त्यसको निम्ति राज्य सहायक भयो। यसले नयाँ नोट यो दिन दिन्छु भनेर किन भन्नुपर्छ? दसैंमा किन दिनुपर्‍यो, नयाँ नोट? राज्यसँग यसको उत्तर छर? राज्यले किन यस्तो अनावश्यक काम गरेको? पुरानो नोट दिइयो भने आशिष लाग्दैन भन्ने कुनै धर्ममा छ? नोट नआउनुभन्दा पहिले दसैं हुँदैनथ्यो? आशिष दिँदैनथे? यो के गरेको? यो जात्रा हो। दसैंलाई बजारीकरण गर्न राज्य आफैं लाग्यो। ठीक काम गर्नुछैन। दसैंमा नयाँ नोट साट्न यहाँयहाँ आऊ भनेपछि त यो विशेष काम रहेछ भन्ने भयो नि। नयाँ नोट नपाउनेले म कमसल रहेछु भन्ने ठान्ने भयो। देशभरिका मान्छेलाई नयाँ नोट पुर्‍याउन सकिन्छ त यतिबेला। त्यो पनि सकिँदैन। कुन परम्परासँग जोडिएको छ यो कुरा? 

बजारले धराप थाप्ने भयो। त्यसमाथि राज्यले मलजल गर्ने भयो। यसबाट आम जनता लुटिने पर्व बन्यो। हैसियत अनुसार लुटिने। थोरै हुनेहरु थोरै लुटिने। धेरै भएकाहरु धेरै लुटिने। यसरी दसैं जसरी बजारको कब्जामा गएको छ। यसबारेमा सामाजिक संगठनहरुले गर्नुपर्ने काम त बाँकी नै छ। तर सबैभन्दा पहिले त राज्य नै सचेत हुनुपर्ने हो।

दुःखमा कमाएको पैसा, कतार गएर ल्याएको पैसा, ज्यान जोखिममा राखेर ल्याएको पैसा। यो चानचुने कुरा छैन। तर त्यो पैसा बजारको निम्ति हावामा सिध्याउने जुन स्थिति बनाइदिएको छ। त्यसलाई मितव्ययी बनाउनका निम्ति राज्यले किन अभियानहरू चलाउँदैन? झन्, उक्साइ पो रहेछ। यो ठीक भइरहेको छैन।

राज्यले के गर्नसक्थ्यो?

परम्परागत चाडपर्वको हकमा हामीले मुख्य त तीनवटा काम गर्नुपर्ने हो। पहिलो, त्यस्ता चाडपर्वका धार्मिक र रुढीवादी पक्षहरुलाई हटाउनुपर्छ। आजको युगमा पनि देवी आउँछिन् र मुक्त गर्छिन्, रामजी आउँछन् र मुक्त गर्छन् भनेर सिकाउने कि टेक्नोलोजी सिकाउने? हामीलाई थाहा छ कि अब विज्ञान र प्रविधि बिना अगाडि जान सकिँदैन। त्यो समयको कथा यस्तो पनि थियो भने भइहाल्यो नि। हाम्रो अन्धता, धर्मान्धता र रुढीवादी विचार ती पर्वबाट हटाउनुपर्छ र तिनीहरुलाई विशुद्ध सांस्कृतिक रुप दिनुपर्‍यो।

दोस्रो कुरा, किफायती बनाउनुपर्‍यो। पाँच दिनसम्म मनाउने कुरालाई दुई दिन वा एक दिनमा झार्नुपर्‍यो।

तेस्रो कुरा, उपभोक्तावादी ढंगले मान्छेलाई बजारले लुट्न नपाओस् भन्नाका निम्ति त्यस खालका विचार र प्रचारको विपक्षमा जनतालाई जागरुक बनाउनाका निम्ति अभियान चलाउनुपर्‍यो।

संसारका सबैभन्दा धनी मध्येमा पर्ने युरोपका क्रिस्चियनहरू वर्षमा एक दिन क्रिसमस मनाएर खर्च गरिरहेका छन्। हामी कमाउनै नसक्नेहरूचाहिँ दर्जनौं दिनसम्म खर्च गरिरहेका छौं। कसरी मिल्छ यो? यो राज्यको निम्ति मिलेन। मैले कुनै क्रान्ति स्रान्तिको कुरा गरेको होइन।

यसका निम्ति राज्य लाग्नुपर्‍यो। सामाजिक संगठनहरु लाग्नुपर्‍यो। यहाँ त संसदीय राजनीतिक दलहरूको हालत कस्तो भयो भने दसैं वा त्यस्तै अवसरमा उसले पनि खर्च गर्ने र चियापान कार्यक्रम गर्ने। कुनै पार्टी छ त्यस्तो, जसले इदमा चियापान राखोस्? उनीहरुको चाहिँ पर्व होइन? हो कि होइन? दसैं तिहार छठ भनिदियो अनि चियापान राख्यो। राजनीति गरिहाल्यो। अनि अरु धर्माबम्बीहरुलाई उत्पीडन महसुस हुँदैन? खास धर्मको प्रचार गर्नलाई राजनीतिक पार्टीहरू लाग्नेर? राजनीतिक पार्टीहरू नै लाग्न मिल्छ? त्यो त मिलेको छैन।

यसरी विचारधाराको कोणबाट पनि ठीक भइरहेको छैन। जनताको आयलाई संरक्षण गर्ने कोणबाट पनि ठीक भइरहेको छैन। सुधार गर्ने कोणबाट पनि ठीक भइरहेको छैन। यो विषयमा सोच्नुपर्छ।

नेपाली समाजमा त्यस्ता के परिवर्तनहरू आएका कारण दसैंको परम्परागत स्वरुपमा परिवर्तन आयो? 

यो त पुँजीवादले ल्यायो नि। पुँजीवादले सामान उत्पादन गर्‍यो। उसलाई बढीभन्दा बढी बेच्नु छ। त्यसका निम्ति मान्छेको मनभित्र धेरैभन्दा धेरै भोक जन्माइदिनुपर्‍यो। चोरेर, फटाह गरेर, मारेर, विदेश गएर, गुलामी गरेर, कमिशन खाएर, भ्रष्टाचार गरेर वा अरु जे गरेर भए पनि त्यो सामान किन्नैपर्ने मानसिकता बनाइदियो। चाहिएको भन्दा बढी चाहिने बनाइदियो। घरमा टिभी चलिरहेको छ तर दसैंको बेलामा फेर्न मन लाग्यो। नयाँ टिभीमा नयाँ च्यानल आउने त होइन, त्यति नै आउने हो। उपभोक्तावाद भनेको यही हो। पुँजीवादले योजनाबद्ध ढंगले मानिसलाई बढी खर्च गर्ने बनाउँदैछ।

दसैंका विषयमा गाइएका पुराना गीतहरूमा गरिबीको सकस, लाहुरे घर फर्किन नपाएको दुखेसो वा साहुका ऋण जोडिन्थ्यो। अहिले त्यो बिम्बमा कतिको परिवर्तन आएको पाउनुहुन्छ? केके फेरिएको पाउनुहुन्छ? 

त्यसमा आधारभूत फरक त म देख्दिनँ। हिजो भारतीय लाहुरेको कुरा हुन्थ्यो, आज तेस्रो देशको लाहुरेको कुरा आउँछ। हिजो 'रेलको स्टेसनैमा' भन्ने खालको गीत गाइन्थ्यो। आज एयरपोर्टमा भनिन्छ। पहिले रेलको स्टेसनमा टोपी लगाएको मान्छे देखिएपछि नेपाली जस्तो लाग्छ भन्थे। रेलबाट भारत जान्थे। अहिले प्लेनबाट जान थाले। गीतमा पनि प्लेनका कुरा हुन्छन्। 'उडिजाने रेल' भन्न थाले। कुरा त उही नै छ। नेपालीहरूको आधारभूत चरित्र त्यही नै छ। विदेश गएर नकमाइकन जीवन नचल्ने अवस्था हिजोको भन्दा बढेको छ। हिजो भारत मात्रै गए हुन्थ्यो, आज संसार चहार्नुपरेको छ। आधारभूत चरित्र परिवर्तन भएन। आजको आवश्यकताअनुसारका बिम्बहरू साहित्यमा आइरहेका छन्।

दसैंको पुनर्व्याख्या आवश्यक छ? 
पुनर्व्याख्या त किन गरिरहनुपर्‍यो र? मैले अघि भनेजस्तो हिन्दूहरूको चाड हो भन्ने कुरा स्थापित गर्नुपर्‍यो। हिन्दुहरूमध्ये कतिले त मुख्य पनि मान्दैनन्। जस्तै कर्णाली पारीका हिन्दूहरू। त्यो पनि बुझाउनुपर्‍यो। अर्को कुरा गैरहिन्दूमाथि विगतमा दसैंमार्फत दमन भएको हो, त्यसलाई सच्याउनुपर्‍यो। अब धर्म निरपेक्षतामा देश गइसकेको हुनाले त्यसो गर्ने कुरा पनि भएन। राज्यले पनि सबै नेपालीको महान चाड भन्न छाड्नुपर्‍यो। महान भने पनि अरु जे भने पनि हिन्दूहरूको चाड हो भन्नुपर्‍यो। अब अरुलाई दुःख दिनुभएन। अरु चाडहरूमाथि पनि त्यति नै न्याय गर्नुपर्‍यो। हिन्दूहरूको चाडपर्वमा लस्करै बिदा दिएको भेट्नुहुन्छ। यसले अरु धर्माबलम्बीहरुलाई चोट पुग्छ।

मैले पहिलेदेखि नै भनिरहेको छु। देशमा एउटा सांस्कृतिक सम्मेलन गरौं। राज्यले नै आयोजना गर्नुपर्‍यो। जहाँ सबै संस्कृतिमा मान्छेहरूले भाग लिउन्। र, त्यहाँ एउटा आम सहमति बनाउनुपर्‍यो। सबैको संस्कृतिको बारेमा के गर्ने, बिदाको बारेमा के गर्ने, पेश्की दिने बारेमा के गर्ने भन्ने बारेमा एउटा आम नीति बनाए त सबै खुसी हुन्छन् नि। किन जबर्जस्ती लाद्नु परेको छ? यहाँ कसैलाई लाद्नु परेको छ। लाद्ने कुरा ठीक छैन।

पञ्चायतकालसम्म छठ रानीपोखरीमा मनाउने चलन थियो र? पञ्चायतले दिन्थ्यो र? मधेसीको चाडलाई त दिँदैनथ्यो। अब अहिले त रानीपोखरीमा, बागमतीमा वा अन्य तलाउमा मनाउँदाखेरी उपत्यकाबासीलाई दुःख भएको छ र? झन् खुसी भएका छन्। यहाँ बसेका मधेसी पनि मनाइरहेका छन्। पहाडीयाहरु पनि गइरहेका छन्। जनसमुदायमा भएका चिजलाई सम्मान गर्दा खुसी नै बढ्ने हो नि। किन दमन गर्नुपर्‍यो। यो ठीक भएको छैन।

सांस्कृतिक सम्मेलन गरेर यो गरौं, त्यो नगरौं भनेर आम सहमति बनाएर त सबै खुसी हुन्छन्। सबैको रक्षा पनि हुन्छ।

भिडियोः