केपटाउन– दक्षिण अफ्रिकाको नयाँ राष्ट्रपतिमा सिरिल रामाफोसा नियुक्त भएका छन्।
निवर्तमान राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामाफोसालाई राष्ट्रपति पदमा चयन गरेको हो।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसदमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण आफ्नो प्राथमिकता हुने बताए। धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको उनको भनाई थियो।
रामाफोसाले छिट्टै आफ्नो पदको शपथ लिने र देशवासीका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
यसअघि आफ्नै दलको तीव्र दवावपछि दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामाको घोषणा गरेका थिए।
सत्तारूढ अफ्रिकन नेशनल कंग्रेस(एएनसी)ले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएको थियो। सो पार्टीका सभापति तथा तत्कालीन उपराष्ट्रपति सिरिल रामाफोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि पार्टीले दबाब दिएको थियो।
सन् २००९ देखि सत्तामा रहेका जुमालाई भ्रष्टाचारसहितका धेरै आरोपहरू लाग्दै आएको थियो।
नवनियुक्त राष्ट्रपति रामाफोसाले गएको डिसेम्बर महिनादेखि सत्तारुढ दलको नेतृत्व गरेका थिए।
दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल परेका उनी सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्ने गठित समितिका अध्यक्ष थिए। रासस/एएफपी/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।