काठमाडौं- तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’को समयमा खिचिएका तस्बिरहरुको प्रदर्शनी बिहीबारदेखि नेपाल कला परिषद् बबरमहलमा सुरु भएको छ।
‘माओवादी जनयुद्धको दुई दशक’ शीर्षकमा सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा सुरु भएको सो प्रदर्शनीमा माओवादी सशस्त्र युद्ध थालिँदा २०५२ फागुन १ गते सार्वजनिक गरेको पोस्टर, माओवादीका लडाकु, महत्वपूर्ण बैठक तथा प्रशिक्षणका तस्बिरहरु समावेश गरिएको छ।
तस्बिर प्रदर्शनीको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे।
यस्तै, माओवादीको चर्चित चुनवाङ बैठक, विस्तृत शान्ति सम्झौता, सेना समायोजन लगायतका महत्वपूर्ण परिघटना समेटिएका तस्बिरहरु पनि प्रदर्शनीमा राखिएका छन्। यस्तै, सैन्य प्रशिक्षण, राजनीतिक सभा र अभियानका तस्बिर समेत प्रदर्शनीमा समावेश गरिएको आयोजकले जनाएको छ।
प्रदर्शनीमा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई चुनवाङ बैठकपछि प्रस्तुत गरिएको ‘युद्ध मैदानबाट फर्किँदा’ भन्ने अपेरा प्रस्तुत गर्दा माओवादीका नेतालाई भावविह्वल बनाएको तस्बिरले बढी आकर्षित गरेको थियो।
प्रदर्शनीमा राखिएका तस्बिर अवलोकन गर्दै अध्यक्ष दाहालले जनयुद्धले उठाएका धेरैजसो राजनीतिक एजेण्डा पूरा भएको र केही बाँकी रहेकाले त्यसलाई पूरा गर्न लागिपर्ने दृढता व्यक्त गरे। कार्यक्रममा दाहालले फोटो पत्रकार दिनेश श्रेष्ठलाई सम्मान गरेका थिए। प्रदर्शनी यही फागुन ७ गतेसम्म चल्नेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।