राजविराज– आपसी सद्भाव र एकताको कामना गर्दै तामाङ समुदायले १५ दिनसम्म मनाउने सोनाम (खि) ल्होछार पर्व सुरु भएको छ। सप्तरी लगायत मुलुकभरका तामाङहरुले २८५४औं सोनाम (खि) ल्होछार पर्व बिहीबारदेखि नै मनाउन थालेका हुन्।
माघ शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व तामाङ समुदायको प्रमुख पर्व हो। यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाउने गरिएको नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समवन्य परिषद् सप्तरीका अध्यक्ष वृजनमान तामाङले बताए।
उनले भने, ‘तामाङ समुदायले प्रयोगमा ल्याएको पात्रो अनुसार यसै दिनदेखि सम्वत् फेरिने भएकाले सोनाम ल्होसारलाई नयाँ वर्षको रुपमा पनि मनाउने गरिएको छ।’
तामाङ समुदायले नयाँ वर्षको स्वागतका लागि घर, गुम्बा लगायतका सार्वजनिक स्थलहरुको सरसफाइ गरी आजैदेखि दीप प्रज्वलन गर्दै छन्। ल्होछारको दिन सम्पूर्ण प्राणीको सुख शान्तिको कामना गरी घर, गुम्बा, स्तुप, बाटो लगायतका सार्वजनिक स्थलहरुमा शान्तिको प्रतीक पञ्चरंगी झन्डा गाड्ने र सामूहिक कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ।
ल्होछारको दोस्रो दिनदेखि १४ दिनसम्म मान्यजनले आफूभन्दा सानालाई टीका र खादा लगाई आशीर्वाद दिने प्रचलन रहेको नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले तामाङले बताए। ल्होछारका अवसरमा वाहिर रहेका व्यक्तिहरु समेत घर फर्केका छन् भने विवाहित छोरीचेली पनि माइती आउने प्रचलन रहेको सन्तमानले बताए।
यस वर्ष तामाङको सोनाम र शेर्पाको ग्याल्बो ल्होछार एकै दिन परेको छ। तामाङ समुदायले मनाउने सोनाम ल्होछार सूर्यपात्रो अनुसार माघ ४ मा परे पनि चन्द्र पात्रो (तामाङ क्यालेन्डर) अनुसार फागुन ४ मा परेकाले ग्याल्बो ल्होछारको दिन नै सोनाम ल्होछार मनाइएको नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज भीमबहादुर घिसिङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।