अंकारा- अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बिहीबार टर्की पुगेका छन्। मध्यपूर्वको भ्रमणका त्रममा उबिहीबार बिहान उनी टर्कीको राजधानी अंकारा पुगेको हुन्।
हालैमात्र टर्की र सिरियाकाबीचमा बढ्दो असमझदारीकाबीच टिलर्सन अंकारा पुग्नुलाई फरक अर्थमा हेरिएको छ।
अमेरिकी विदेशमन्त्री टिलर्सनले गत जुलाईमा पनि टर्कीको भ्रमण गरेका थिए। यस पटकको भ्रमणकाक्रममा उनले टर्किस् राष्ट्रपति रिसेप तयप एर्दोगान र विदेशमन्त्री मेभलट काभुसोग्लुसँग पनि भेटवार्ता गर्नेछन्।
सिरियामा रहेका कुर्दिसहरुकाविरुद्ध हालैका दिनहरुमा टर्कीको सेनाले जारी राखेको कारबाहीका कारण पछिल्लो समयमा समस्या उत्पन्न भइरहेको छ। सो बारेमा पनि भेटवार्ताका क्रममा कुराकानी हुने बताइएको छ।
त्यसैगरी सिरियामा त्यहाँको सेनाले पछिल्ला केही महिनामा गरेको कारबाहीमा रासायनिक तथा घातक हतियार प्रयोग गरेको बारेमा उत्पन्न विवादका बारेमा पनि टिलर्सनले कुराकानी गर्नेछन्।
भेटकाक्रममा सिरियामा जारी रहेको करिब सात वर्ष लामो हिंसाका कारण टर्की र सिरियामा उत्पन्न समस्या तथा द्विपक्षीय विवादका विषयमा विदेशमन्त्री टिलर्सनले भेटवार्ता गर्नुहुने बताइएको छ।
टर्किस् सेनाले सिरियामा गरेको कारबाहीको विषयलाई लिएर नेटो सेना र टर्कीबीच पनि पछिल्लो समयमा विवाद उत्पन्न भएको छ। यस विषयमा अमेरिकाले पहिलेदेखि नै चासो व्यक्त गर्दै आएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।