फ्लोरिडा- अमेरिकाको फ्लोरिडास्थित पार्कल्यान्डमा रहेको एक उच्च माध्यामिक विद्यालयमा एक युवकले अन्धाधुन्ध गोली चलाउँदा १७ जनाको मृत्यु भएको छ।
मार्जोरी स्टोनम्यान डोग्लास उच्च माध्यामिक विद्यालयमा बुधबारको कक्षा सकिए लगत्तै गोली प्रहार भएको हो।
गोलीप्रहार गर्ने १९ वर्षिय युवक निकोलस क्रुज सोहि विद्यालयका निष्काशित विद्यार्थी रहेको प्रहरीले बताएको छ।
प्रहरीले आक्रमणकारी माथि जवाफी आक्रमण गर्दा विद्यार्थीहरु विद्यालय भवन भित्रै लुक्न बाध्य भएका थिए।

ब्रोवार्ड प्रान्तका अधिकारी सेरिफ स्कट इसरेलका अनुसार क्रुजले विद्यालय हाताभित्र प्रवेश गर्ने क्रममा ३ जनालाई गेट बाहिर नै गोली प्रहार गरेका थिए। गोली प्रहारबाट विद्यालय भित्र अन्य १२ जनाको मृत्यु भएको थियो।
ब्रोवार्ड स्वास्थ्य केन्द्रका डा.इभान बोयरले बुधबार रातिसम्ममा १७ जना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताए।
बोयरका अनुसार गोली प्रहार गर्ने क्रुज पनि घाइते भएकोले पुलिसको निगरानीमा उपचार भइरहेको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको तथा अन्य ३ को भने स्थिर रहेको उनले जानकारी दिए।
मृतकमध्ये एक जना फुटबल प्रशिक्षक रहेको तर उनको नाम भने खुल्न नसकेको प्रहरीले जनाएको छ। अन्य मृतकहरुको भने हालसम्म सनाखत हुन सकेको छैन। प्रहरीका अनुसार मृत्यु हुने अधिकांश विद्यार्थी छन्।
गोली प्रहार गर्नुअघि क्रुजले अग्निसूचक(फायर अलार्म) बजाएका प्रत्यक्षदर्शीले बताएका छन्।

प्रहरीले गोली प्रहार भएको करिब १ घण्टामा सबै विद्यार्थीहरुलाई सुरक्षित बाहिर निकालेका थिए।
अनुशासनको कारण विद्यालयबाट निष्काशित भएका कु्रजलाई घटनाको करिब आधा घण्टापछि नै प्रहरीले अस्पतालबाट नियन्त्रणमा लिएको थियो।
फ्लोरिडाका सिनेटर मार्को रुवियोले घटना पहिलेदेखि नै योजनाबद्ध रहेको र धेरै मानिसको हताहती होस् भन्ने उद्देश्यले गराइएको बताए।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै मृतकहरुको आत्माको शान्तीको कामना गर्दै शोकमा रहेका परिवारमा समवेदना व्यक्त गरेका छन्। ट्विटमा उनले लेखेका छन्,‘बालबालिका, अभिभावक तथा कसैले पनि अबका दिनमा विद्यालयमा असुरक्षित वातावरणको महशुष गर्नुपर्ने छैन।’
सन् २०१२ मा कनेक्टिकटमा २६ जनाको मृत्यु हुनेगरि भएको यस्तै गोली प्रहारपछि विद्यालयमा भएको यो घटना ठूलो मानविय क्षति भएको घटना हो। स्यान्डी हुक एलिमेन्ट्री स्कुलमा एडम लान्जाले गोली चलाउँदा २० किशोर विद्यार्थीसहित २६ जना मारिएका थिए।

एक अध्ययनकाअनुसार पछिल्लो एक वर्षमा भएका १८ वटा गोली प्रहारका घटना विद्यालय परिसरमा गराइएको थियो। यस वर्ष मात्रै विद्यालयमा गोली प्रहार भएको यो छैटौँ घटना भएको अमेरिकी मानवअधिकारवादी संस्था एड्भोकेसी फोरमले जनाएको छ।
सन् २०१३ मा २ सय ९१ वटा गोली प्रहारका यस्तै घटनाहरु रजिस्टर भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।