ललितपुर- सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि ललितपुर महानगरपालिकाले सो हटाउने भएको छ।
स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिकजसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताउँदै आएको छ। यसलाई हटाउन धेरै जना नगरवासी कार्यालयमा आइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। 'केही दिनपहिले एक जना त भाँचिएको हात नै लिएर आउनुभएको थियो,' उनले भने।
महानगरपालिकाका भित्री बाटोमा छोटो दुरीमा नै धेरै वटा स्पिड ब्रेकर छन्।
आगामी दिनमा नयाँ स्पिड ब्रेकर बन्न नदिने योजना महानगरपालिकाको छ। प्रमुख महर्जनले नयाँ बन्न नदिने र भएका पनि बिस्तारै भत्काउँदै जाने बताए।
महानगरपालिकावासीले सडक व्यवस्थापन नहुँदा हैरानी बेहोरेको गुनासो गरिरहेका छन्। स्पिड ब्रेकर हटाउने, सडक बत्ती राख्ने, व्यस्त सडक ‘वान वे’ र पर्यटकीय स्थानमा सवारी आगमन रोक्ने काम महानगरपालिकाले गर्दैछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।