सल्लेरी, सोलुखुम्बु- सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ। जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको हो।
सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिए। हिमपातसँगै हल्का बर्सात भएपछि जनजीवन कष्टकर बने पनि स्थानीयवासी भने हर्षित भएका छन्।
लामो समयदेखि हिउँ नपरेको काँगेल क्षेत्रमा यस वर्ष हिउँ परेको छ। बुधबार दिउँसो करिब १:३० बजेदेखि ४ घण्टा हिमपात भएको स्थानीयवासी राजेन्द्र बस्नेतले जानकारी दिए। 'जन्मेको २६ वर्ष भयो हिउँ परेको थाहा थिएन, यस वर्ष हिउँ पर्यो,' उनले भने।
त्यस क्षेत्रमा करिब दुई फिटसम्म हिउँ झरेको बताइएको छ।
जिल्लाको सदरमुकामसहित अन्य क्षेत्रमा सामान्य बर्सात भएको छ भने अत्यधिक चिसो महसुस गरिएको छ। पानी प्रशस्त नपरे पनि चिसो भने बढेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।