काठमाडौं- सभामुख रहेका कृष्णबहादुर महराले आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लागेपछि अनुसन्धानका लागि भन्दै पदबाट राजीनामा दिएका छन्।
बलात्कारजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिलाई सरकारवादी मुद्दा लाग्नेछ। सरकारी पक्षले प्रतिरक्षा गर्ने मुद्दामा महरामाथि फौजदारी अपराध संहिताअनुसार अनुसन्धान हुनेछ। यदि महरामाथि स्वतन्त्र छानबिन सुरु भयो भने मुलुकी फौजदारी अपराध संहिताको व्यवस्था आर्कषित हुने देखिन्छ।
मुलुकी संहितामा के छ?
महरामाछि मुलुकी फौजदारी संहिताको दफा २१९ र २२२ अनुसार अनुसन्धान हुनुपर्ने देखिन्छ। नियम २१९ को व्यवस्थाअनुसार उनी दोषी देखिएमा ७ वर्षदेखि १० सम्मको सजाय हुने उल्लेख छ। महरा सभामुखको जिम्मेवारीमा रहेको र उनकै कार्यालयमा काम गर्ने कर्मचारीले आरोप लगाएकाले संहिताको दफा २२२ को उपदफा २ पनि थप आर्कषित हुनेछ।
उक्त व्यवस्थामा आफ्नो सुरक्षा र संरक्षणमा रहेको व्यक्ति भएमा थप ३ वर्षसम्म कैद सजाय हुने उल्लेख छ। यसरी हेर्दा महरा दोषी ठहर भएमा १३ वर्षसम्मको कैद सजाय हुने देखिन्छ।
प्रहरीले उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिनुपर्नेछ। प्रहरीले अनुमति लिँदा फौजदारी संहिताको उक्त दुईवटा धारामा मुद्दा दायरका लागि समय लिनेछ। उक्त मुद्दा जिल्ला अदालत प्रवेश गर्दै महरा दोषी ठहर भएमा विशिष्ट व्यक्ति भएकाले दुबै धाराअनुसार १३ वर्ष कैद सजाय हुनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।