काठमाडौं– नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरी सोमबार अचानक नेपाल–चीन (तिब्बत) सीमा हुम्लाको हिल्सा पुगेर फर्किएका छन्।
नेपालगञ्जबाट नियमित उडानमा सोमबार बिहान हुम्ला विमानस्थल ओर्लिएका पुरी त्यहाँबाट सोझै सिम्रिक एयरको चार्टड हेलिकोप्टरमा नेपाल–चीन नाका हिल्सा पुगेका थिए। आफ्ना अंगरक्षक सहित चारजनाको समूहमा रहेका राजदूत पुरीले हिल्सामा २० मिनेट बिताएर फर्किएका थिए।
सीमा प्रहरी चौकी हिल्साका प्रहरी नायब निरीक्षक निल लामालाई ‘वर्षेनी हजारौं धार्मिक पर्यटक कैलाश मानसरोवरका लागि आउने स्थान हेर्न आएको’ बताएका उनले सीमा चौकीमा केही मिनेट बिताएका थिए। उनले नेपाल–चीन सीमाका विषयमा समेत जानकारी लिनुका साथै सहयोगीका साथ केही समय हिल्साको वस्तुस्थिति अवलोकन समेत गरेका थिए।
प्रदेश ५ का प्रहरी प्रमुख एआइजी रणबहादुर चन्दले राजदूत पुरी हुम्ला आएको खबर आफुले पाए पनि उनको भ्रमणको उद्देश्यका विषयमा केही जानकारी नभएको बताए। उनले राजदूत पुरी हुम्ला पुगेपछि जिल्ला प्रहरी प्रमुख डिएसपी कमल नेपाल मार्फत जानकारी आएको बताए।
‘महामहिम आउनु भएको छ भन्ने खबर पाएँ, उहाँको भ्रमणका विषयमा माथिबाट कुनै जानकारी आएको छ्रैन,’ एआइजी चन्दले भने। डिएसपी कमल नेपालले राजदूत पुरी केही समय विमानस्थलमा बसेर हिल्सातर्फ गएको र करिब एघार बजे नेपालगञ्ज फर्किएको बताए।
नेपालस्थित भारतीय राजदूतावासका प्रवक्ता रुबी जसप्रित शर्माले राजदूत पुरी कैलाश मान सरोवरको यात्राका विषयमा जानकारी लिन हुम्ला गएको बताइन। ‘उहाँ भारतीय तिर्थालुको गन्तव्य बनेको कैलाश मानसरोवरका विषयमा बुझ्न स्थलगत भ्रमणमा जानु भएको हो, आजै काठमाडौं फर्किसक्नु भयो,’ प्रवक्ता शर्माले नेपाल लाइभसँग भनिन्।
(तस्बिरहरुः नेपालस्थित भारतीय राजदूतावासकाे ट्वीटरबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।