चितवन- देशका प्रमुख चार पर्यटकीय सहरलाई हवाइ यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन्।
प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाइ यातायातले जोडेको छ। काठमाडौँबाट तीन वटा सहरमा हवाइ यातायात सुविधा भए पनि एक सहरबाट अर्को सहरमा सिधा हवाइ सेवा थिएन।
अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाइ सेवा सुरु भएको छ। बुद्ध एयरले यी तीन सहर हवाइ यातायातमार्फत जोडेको हो। यससँगै छोटो समयका लागि नेपाल आउने विदेशी पर्यटक लाभान्वित हुने भएका छन्।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे नारायणगढ–मुग्लिन सडक बिग्रिएको अवस्थामा पोखरासँग हवाइ यातायातले जोडिँदा निकै उत्साहित भएको बताउँछन्। यहाँ आएका पर्यटक हवाइ माध्यमबाट पोखरा जान थालेको र पोखराबाट चितवन आउन थालेका छन्। चितवन आएका पर्यटक पनि पोखरा हुँदै लुम्बिनीसम्म जहाजमै जान सक्ने भएका छन्।
पछिल्ला वर्षमा विदेशीको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रहेको छ। हवाइ सुविधासँगै नेपाली पर्यटक पनि एक-अर्को गन्तव्यमा आवतजावत गर्न थालेको घिमिरेले बताए।
चितवनमा चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न र यहाँका थारु संस्कृति हेर्न बर्सेनि दुई लाखको हाराहारीमा पर्यटक आउने गरेका छन्।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन सडकका कारण समस्या भइरहेका बेला हवाइ सम्बन्ध जोडिएपछि समग्र नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्नेमा ढुक्क छन्।
चारवटै सहरसँगको ‘एयर कनेक्टिभिटी’पछि स्तरीय पर्यटक बढ्ने उनको अनुमान छ। नारायणगढ–मुग्लिन सडकका कारण दयनीय अवस्थामा रहेको चितवनको पर्यटनलाई पनि हवाइ सेवाले उकास्ने तुलाचनको भनाइ छ।
होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह पर्यटकीय सहरको बीचमा हवाइ यातायात हुँदा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताउँछन्।
विदेशी ट्राभल एजेन्सीहरुले आफ्नो नेपाल आउने भ्रमण प्याकेजमा चितवनलाई हटाउने गरेकामा अब सहज भएको उनले बताए।
सन् २०१६ मा नेपालमा ७ लाख ५३ हजार पर्यटक भित्रिएका थिए। सन् २०१७ को हालसम्म ४ लाख ५० हजार पर्यटक नेपाल भित्रिएको तुलनामा यो वर्ष ९ लाखको हाराहारी पर्यटक भित्रिने अपेक्षा गरिएको शाह बताउँछन्।
नेपालको पहिलो पर्यटकीय गन्तव्य काठमाडौँ हो भने दोस्रो पोखरा, तेस्रो चितवन र चौँथो लुम्बिनी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।