काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अदालतबाट भएका फैसलाहरुमाथि टिप्पणी नगर्न सचेत गराएका छन्। सर्वोच्च अदालतमा आज आयोजित चियापान कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राणाले सबैलाई सचेत गराएका हुन्।
सर्वोच्च अदालतले एनसेल लाभकर मुद्दामा गरेको फैसलामाथि संसद्देखि सडकसम्म आलोचना हुँदै आएको छ। सांसदहरुले सर्वोच्चको पछिल्लो फैसलाको बारेमा सदनमा पटक-पटक कुरा उठाइरहेका छन्।
उनीहरुले फैसला गर्ने न्यायाधीशहरुमाथि महाअभियोग लगाउनुपर्ने देखि पुनरावलोकनमा सरकार जानुपर्नेसम्मका माग गरिरहेका छन्। संसद्मा सत्तापक्षका सांसदहरुले पनि सर्वोच्चको फैसलाको छानबिन हुनुपर्ने माग गरिरहेको समयमा प्रधानन्यायाधीशले यस्तो टिप्पणी गरेका हुन्।
‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट न्याय सम्पादनको क्रममा भएका फैसला वा आदेशहरुको विधिपूर्वक परीक्षण हुनसक्दछ,’ राणाले भने, ‘तर, असम्वद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परीक्षण गर्ने कार्य आफैंमा स्वतन्त्र न्यायपालिकाको अवधारणा र मूल्यमान्यता विपरीत हुन जान्छ।’
यसले न्यायपालिकाप्रतिको विश्वसनीयतामा प्रश्न उठ्न जाने र नेपालको संविधानले परिकल्पना गरेको सक्षम र सुदृढ न्यायपालिकाको स्थापनामा सहयोग नपुग्ने राणाको भनाइ छ।
पछिल्लोपटक सर्वोच्चले एनसेलको करिब १८ अर्ब जोगाउने गरी फैसला सुनाएपछि अदालत र न्यायाधीशको आलोचना हुँदै आएको छ। सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ तयार नहुँदै फैसलामा संलग्न एक न्यायाधीशले पत्रिकामा लेख लेखेरै त्यसको बचाउ गरेपछि यो थप विवादित भएको थियो। संसद्पछि नेपाल बार एसोसिसनले पनि यो विषयमा छानबिन गर्न समिति बनाएको थियो।
एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्री विवादमा सर्वोच्चका पाँच न्यायाधीशको इजलासले केही छुट दिनेगरी फैसला सुनाएको थियो। सर्वोच्चले दोस्रोपटक सुनाएको फैसलामा एनसेलमाथि लाभकरको जरिवाना तिर्नुपर्ने जानकारी पाएको मितिदेखि निर्धारण गर्न ठूला करदाता कार्यालयको नाममा आदेश गरेको थियो।
त्यसअघि प्रधानन्यायाधीश राणासहितको पूर्ण इजलासले लाभकरको दायित्व एनसेलको हुने र कर लाग्ने विषयमा ठूला करदाता कार्यालयले निर्धारण गरे बमोजिम हुने फैसला सुनाएको थियो। सर्वाेच्चको उक्त फैसलापछि करदाता कार्यालयले ३९ अर्ब कर निर्धारण गरेको थियो। उक्त कर निर्धारणपछि एनसेल सर्वोच्च पुगेको थियो। एनसेलले १४ अर्बमात्र तिर्ने दावीसहित सर्वोच्चमा मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।