नेपालगञ्ज- सुरक्षाका दृष्टिले अति संवेदनशील भएको जनाउँदै नेपालगञ्ज विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
भिभिआइपी/भिआइपीको स्वागत तथा बिदाइका लगि हुल बाँधेर सयौंको संख्यामा भिआइपी कक्ष हुदै धावन मार्गसम्म पुग्ने प्रवृत्ति बढेपछि प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको हो।
कुन मर्यादा तहको भिभिआइपी/भिआइपीका लागि कति जनासम्म भिआइपी कक्षसम्म जान पाउने भनेर प्रशासनले मापदण्ड तय तय गरेको छ। जसअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश आउँदा उनीहरुको स्वागत तथा बिदाइमा बढीमा १० जनालाई कक्षसम्म जान दिइनेछ।
प्रमुख राजनीतिक दलका प्रमुखको स्वागत-बिदाइका लागि सम्बन्धित दलका तर्फबाट सिफारिस गरिएका बढीमा १० जना तथा पार्टीका केन्द्रीय पदाधिकारी आउँदा-जाँदा बढीमा ५ जनालाई मात्र भिआइपी कक्ष प्रवेशको पास दिइने व्यवस्था गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक प्रतापबाबु तिवारीले बताए।
यस्तै, सरकारी कार्यालय, सार्वजनिक संघसंस्था लगायतले गर्ने कार्यक्रममा विभागीय मन्त्री तथा विशिष्ट पदाधिकारी आउँदा सम्बन्धित कार्यालयका ३ जना र आयोजक तर्फबाट २ गरी ५ जनाको प्रवेश व्यवस्था मिलाइने भएको छ। विमानस्थलको सुरक्षा संवेदनशीलताका कारण मुलगेटका हुने प्रवेशमा पनि कडाइ गरिएको छ।
विमानस्थलको सुरक्षा व्यवस्था संघीय प्रहरी एकाइ कार्यालय अन्तर्गतको विमानस्थल सुरक्षा गार्डले गर्दै आएको छ।
यहाँ सुरक्षाका लागि प्रहरी नायव निरीक्षकको कमान्डमा ३७ जना प्रहरी खटिने गरेका छन्। नेपालगञ्ज विमानस्थल सामान्यतया बिहान ६ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुन्छ।
यात्रु, विमान तथा विमानस्थलको सुरक्षा संवेदनशीलतालाई हेरेर सुरक्षा व्यवस्थामा कडाइ गरिएको संघीय प्रहरी इकाइ नेपालगञ्का प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक महेश विक्रम शाहले बताए।
काठमाडौंका लागि यहाँबाट दैनिक १० वटा उडान हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।