काठमाडौं– प्रदेश नम्बर २ मा रहेका आठ जिल्लामा विहान सात बजेबाट मतदान भइरहेको छ । बिहान ५ बजेदेखि नै मतदाता मतदानका लागि लामबद्ध थिए।
सप्तरीको हनुमाननगरमा भने राप्रपा र राजपाका कार्यकर्ताबीच विवाद हुँदा केही समय मतदान कार्य प्रभावित भयो । यस्तै, बाराका केही मतदान केन्द्रमा प्राविधिक कारणले नियमित समयभन्दा आधा घन्टा ढिलोबाट मतदान सुरु भएको छ।
मतदान भइरहेका आठै जिल्लामा मतदानको अवस्थाका विषयमा नेपाल लाइभले जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रमुखसँग कुराकानी गरेको छ । कुन जिल्लामा कसरी भइरहेको छ मतदान ? सरोकारवालाको भनाइः
कमलदेव यादव
प्रशासकीय अधिकृत, सिरहा
सिरहामा केही छिटफुट बाहेक अन्य उल्लेख्य घटना भएको छैन । सुरक्षा व्यवस्था कडा बनाइएको छ । म बसबिट्टा मतदान स्थलमा छु । यहाँ निर्वाचन शान्तिपूर्ण भइरहेको छ । सबै उमेरसमूहका मतदाता बिहानैदेखि मतदानका लागि केन्द्रमा आउने क्रम जारी छ।
भागीरथ पाण्डेय
प्रमुख जिल्ला अधिकारी, सप्तरी
सप्तरीको हनुमाननगर मतदान केन्द्रमा राप्रपा र राजपाका कार्यकर्ताबीचको विवादका कारण केहीबेर मतदान कार्य प्रभावित थियो । तत्काल सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका थिए । गए राति समेत सप्तरीमा पार्टीहरुबीच विवाद भएको थियो।
मतदान स्थलहरुको अनुगमनमा निस्किएको छु । सप्तरीमा अपेक्षा गरेभन्दा शान्त वातावरणमा मतदान कार्य जारी छ।
चक्रबहादुर सिंह
प्रहरी उपरीक्षक, धनुषा
दलहरुको प्रतिष्ठाको बिषय बनेको धनुषामा शान्तिपूर्ण मतदान कार्य भै रहेको छ । विहान नौ बजेसम्म कुनै घटनाको सूचना नआएको एसपी सिंहले बताए । उनले सबै मतदान केन्द्रमा उत्साहपूर्ण मतदान भै रहेको जानकारी दिए।
बाबुराम श्रेष्ठ
प्रमुख जिल्ला अधिकारी, महोत्तरी
महोत्तरीमा हालसम्म कुनै अप्रिय घटनाको जानकारी आएको छैन । महोत्तरीमा रहेका ४ सय १५ मतदान केन्द्रमा उत्साहपूर्ण मतदान भइरहेको छ । जिल्लामा रहेका २ सय ५८ मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना र सशस्त्रको टोलीले सीमावर्ती बजारदेखि सहर र गाउँगाउँमा गस्ती गरिरहेको छ।
लक्ष्मीप्रसाद खरेल
प्रशासकीय अधिकृत, सर्लाही
सर्लाहीमा गए राति राजपा र नेपाली कांग्रेसबीच झडप भएको थियो । तर, त्यसले मतदानमा कुनै असर परेको छैन । जिल्लाका सबै मतदान केन्द्रमा उत्साहपूर्ण मतदान भइरहेको छ।
उद्ववबहादुर थापा
प्रमुख जिल्ला अधिकारी, रौतहट
निर्वाचन सुरक्षाका लागि चोक–चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । मतदानमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता छ । चेकजाँच कडा पारिएका कारण हालसम्म कुनै अप्रिय घटना भएको छैन।
मुकेशकुमार केशरी
सहायक प्रमुख जिल्ला अधिकारी, बारा
बारामा मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । केही मतदान केन्द्रमा विविध कारणले साढे सात बजेदेखि मतदान सुरु भएको थियो । अन्य केन्द्रमा भने सात बजेदेखि नै मतदाताहरुले मताधिकारको प्रयोग गरिरहेका छन्।
दुर्गादत्त पौडेल
निमित्त प्रमुख जिल्ला अधिकारी, पर्सा
पर्सामा दुई घन्टाको अवधिमा भएको मतदान हेर्दा ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ । वीरगञ्ज महानगरपालिकासहित अन्य नगरपालिका र गाउँपालिकाका एक सय ६७ मतदान स्थलमा तीन सय ४४ मतदान केन्द्रमा शान्तिपूर्ण रपमा मतदान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।