काठमाडौं- तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज प्रदेश २ मा मतदान हुँदै छ । चुनावका लागि खुला सिमाना, सशस्त्र समूहका गतिविधि र विप्लव माओवादी तथा सिके राउत समर्थित क्रियाकलाप प्रमुख सुरक्षा चुनौती मानिएको छ।
यसबाहेक दलहरु बीचमा हुन सक्ने सम्भावित भिडन्त र मतगणनामा हुन सक्ने हुलहुज्जतलाई पनि निर्वाचन सुरक्षाको अर्को चुनौतीका रुपमा केन्द्रीय निर्वाचन सुरक्षा समितिले विश्लेषण गरेको छ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी ८ जिल्लामा ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित भएका छन् । सेनाले निर्वाचनका लागि ८ जिल्लाका ३१ स्थानमा सुरक्षा बेस स्थापना गरेको छ। यस्तै, सेनाको जनकपुर र बारामा रहेका बाहिनीलाई हवाइ बेस बनाएर ४ वटा हेलिकोप्टर चौबीसै घन्टा तयारी अवस्थामा राखिएको जनाएको छ।
सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले सरकारले दिएको जिम्मेवारी पूरा गर्न सेना फिल्डमा खटिएको बताए । उनले निर्वाचन सुरक्षाको बाहिरी घेरामा रहने सेनाले पैदल गस्ती र सवारीसाधनमा पेट्रोलिङ गरिरहेको छ । सेनाले संवेदनशीलताका आधारमा बख्तरबन्द गाडी र अत्याधुनिक हतियार समेत निर्वाचन सुरक्षाका लागि प्रयोगमा ल्याएको छ।
‘सुरक्षा बेस स्थापना भएको छ, हवाई बेस तयारी अवस्थामा रहनेछ, आवश्यकता अनुसार स्थानीय गण, गुल्म र बाहिनीबाट स्रोत साधन प्रयोग हुनेछ,’ कडायतले नेपाल लाइभसँग भने।
सुरक्षा विश्लेषण अनुसार, प्रदेश २ का ८ जिल्लामा अनुपातमा ७० प्रतिशतको हाराहारीमा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । २० प्रतिशतलाई सवेदनशील र बाँकी १० प्रतिशतलाई सामान्य सूचीमा राख्दै जिल्ला सुरक्षा संयन्त्रले प्रबन्ध मिलाएको छ।
अघिल्ला निर्वाचन सरह यसपटक समेत पहिलो घेराको निर्वाचन व्यवस्थापन र भित्री सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीले सम्हाल्नेछ । मतदान केन्द्रमा मतपेटिकाको सुरक्षाका लागि हतियार सहित प्रहरी खटिनेछन् । यस्तै, मतदान स्थलको दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछ।
मतदानपछि मतपेटिका सेनाले मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी पाएको छ। सेनाका अनुसार मतपेटिका ल्याउन केही स्थानमा आवश्यकता अनुसार हेलिकोप्टरको समेत प्रयोग हुनेछ।
प्रदेश २ मा रहेका ८ जिल्लामा सप्तरी, सर्लाही, बारा, जनकपुर र महोत्तरी सबैभन्दा बढी सवेदनशील मानिएका छन् । आन्तरिक भिडन्त र बाह्य घुसपैठ तथा आपराधिक समुहको प्रयोग हुनसक्ने सम्भावना सहित यी जिल्लाको सुरक्षा मजबुत पारिएको छ। यस्तै सिरहा, रौतहट र पर्सामा समेत निर्वाचन अवधिमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीको सामना गर्न तीनै सुरक्षा निकाय सजग रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।